मध्य हिउँदमा शान्त छ भुजी खोला । पत्यारै लाग्दैन– यो त्यही खोला हो जसले गत बर्खामा त्यस्तो वितण्डा मच्चाएको थियो । त्यो गडगडाहट अहिले सुस्त छ । अपसोच, भुजी किनारका बासिन्दा भने अहिले पनि उस्तै बेचैनीमा छन् । त्यो ताण्डव उनीहरूका मनबाट अझै हट्न सकेको छैन ।
भदौ १७ को मध्यराति ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीमा थुप्रैले प्रियजन गुमाए । थातथलो र जायजेथा पनि बाँकी रहेन । उठिबास लागेकाहरू बडो कष्टपूर्वक माघको ठिही झेल्दै छन् ।
‘बाढीमा श्रीमती र तीन भाइ छोरा गुमाएँ, घरखेत केही छैन,’ घट्टेचौरका वीरबहादुर विकले भने, ‘उठीबास भएपछि अहिले अर्कैको घरमा आश्रय लिएको छु ।’ उनकी श्रीमती चनी तथा छोरा नौ वर्षीय, रोशन दुई वर्षीय खिमप्रसाद र २२ दिनका राजनको बाढीमा मृत्यु भएको थियो ।

बत्तीस वर्षीय विकले नगरपालिकाबाट वैशाखसम्म घर बनाइदिने आश्वासन पाए पनि अहिलेसम्म कुनै सुरसार नदेखिएको गुनासो गरे । ‘बरु आस नदेखाएको भए मागेर पनि खाइन्थ्यो होला, माथिबाट आएर हामी सहयोग गर्छौं भन्नुभएको छ, हेरौँ,’ उनले भने ।
जग्गा सबै बाढीले बगाएपछि विकलाई घर कहाँ बनाउने भन्ने पिरलो छ ।
सोही वडाको लाँकुरीबोटका बाढीपीडित भीमबहादुर सुनारले ऋण काढेर अस्थायी छाप्रो बनाएको सुनाए । ‘घर, पसलसहित सबै बाढीले लग्यो, अहिले त्यहीँ नजिकै छाप्रो हालेको छु,’ उनले भने, ‘पहिलेदेखि व्यवसाय गरेकाले त्यसैमा सानो पसल सुरु गरेको छु ।’
बाढीले घर बगाएपछि सुनारको परिवारले केही समय गाउँकै विद्यालयमा आश्रय लिएको थियो । छाप्रामा श्रीमती र ६ छोराछोरीसहित दुखजिलो गरेर दैनिकी गुजारिरहेको सुनारले बताए । बाढीपीडितको पुनःस्थापनामा ढिलाइ हुन नहुने उनको भनाइ छ । ‘सबै आए, भाषण गरे तर अहिलेसम्म केही गरेका छैनन्,’ उनले भने ।
आफ्नै घर अनि कमाएर खाने जग्गा नहुँदाको पीडामा छन् विस्थापित । वडाध्यक्ष हरिबहादुर घर्तीले विस्थापित परिवार कोही आफन्तकहाँ त कोही गोठ र छाप्रो बनाएर बसेको बताए ।
‘यस्तो चिसोको याम छ, मान्छेहरू पीडामा छन्, वडाले गर्न सक्ने केही छैन,’ उनले भने । वडाध्यक्ष घर्तीले संघ र प्रदेश सरकारबाट घर पुनर्निर्माणका लागि सहयोग आउने भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको बताए ।
‘देशविदेशबाट नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसा पनि बाढीपीडितका लागि आउन सकेको छैन,’ उनले भने । स्थानीय जुनकुमार विकका अनुसार जाडोयाममा बाढीपीडितको दैनिकी थप कष्टकर बनेको छ । ‘कोही निगाला र स्याउलाले बारेर हिउँदे गोठ बनाएर बसेका छन्, कोही पालमा छन्,’ उनले भने, ‘नगरपालिकाले तत्काललाई अस्थायी बासको प्रबन्ध गर्ने भने पनि त्यो कुरैमा सीमित भएको छ ।’
सरकार र दाताबाट जतिसक्दो छिटो घर बनाइदिन सके बाढी प्रभावितलाई ठूलो राहत मिल्ने वडाध्यक्ष घर्तीले बताए । व्यक्तिका घरदेखि क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
पूरा भएन प्रतिबद्धता
बाढीको घटनालगत्तै उद्धार र राहतमा सबै पक्ष जुटे । नगद, खाद्यान्न, लत्ताकपडा, औषधि वितरण गरे । देशविदेशमा राहत अभियान चल्यो । गृहमन्त्री रामबहादुर थापादेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्मले बाढीग्रस्त क्षेत्रमै पुगेर राहत सामग्री बाँडे । बाढीपीडितको पुनःस्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

यस्तै गत असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नगरपालिकाको केन्द्र बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनर्निर्माणको काम थाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पनि हिउँद लाग्नासाथ क्षतिग्रस्त घरको पुनर्निर्माण थालिने बताएका थिए । एकीकृत खालको बस्ती बसाउन सम्भव नहुने भएपछि व्यक्तिले उपलब्ध गराउने जग्गामा घर बनाइदिने उनको भनाइ थियो ।
विस्थापितहरू चाहन्छन्, तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता छिट्टै पूरा होस् । नगरपालिकाकी उपप्रमुख करमती पुनले बाढीप्रभावित सबै वडाबाट क्षतिको यकिन विवरण संकलन भइरहेको बताइन् ।
‘पूर्ण क्षति भएका घर पुनर्निर्माणमा नगरपालिकाले आवश्यक प्रक्रिया थालेको छ,’ उनले भनिन्, ‘हाम्रो बजेटले मात्र नधान्ने हुँदा प्रदेश र संघ सरकारसँग पनि माग गरिएको छ ।’
जग्गै नभएका परिवारलाई पनि नगरपालिका र अन्य दाता मिलेर जग्गा व्यवस्थापन गर्ने योजना बनाइएको उपप्रमुख पुनले बताइन् ।
उनका अनुसार नगरपालिकाको बाढीपीडित राहत कोषमा झन्डै अढाई करोड रुपैयाँ संकलन भइसकेको छ । ‘राहत रकमले मात्र घर पुनर्निर्माण सम्भव छैन, माथिबाटै सम्बोधन हुनुपर्छ,’ उपप्रमुख पुनले भनिन् ।
बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पु¥याएको थियो । त्यहाँका मात्र १०३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का आठ घर पूर्ण र नौ घरमा आंशिक क्षति छ । बाढीले वडा नं ५, ६ र ७ सम्मै प्रभावित बनाएको थियो ।
प्राकृतिक प्रकोपबाट सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायत सयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका थिए । हजारौँ रोपनी खेतीयोग्य जमिन बगर बनेको छ ।

बाढीले लाँकुरीबोट, दुनेपधेँरा, भुसुन्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायत बस्तीमा सबैभन्दा क्षति पु¥याएको छ । घटनामा २२ जनाले ज्यान गुमाएका थिए भने १५ अझै बेपत्ता छन् ।
लघुजलविद्युत् आयोजनालगायत केही संरचनाको पुनर्निर्माण स्थानीय आफैंले गरेका छन् । भुजीखोलाको बाढीपछि सरकारले पनि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणको काम थाल्ने घोषणा गरेको थियो ।
तस्बिर : विमल खड्का













































































































































































































