बझाङको छविसपाथिभेरा गाउँपालिका –३ का अमृतसिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् ।
हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविसपाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति पक्राउ गरेको थियो भने ज्ञानवहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकास अयडी र केदार अयडीलाई थलारा गाउँपालिका वडा नं ३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।



















































































































































































































