२४ बैशाख २०८१, सोमबार

 

आमा !

आमा, मन नदुखाउनुहोला
जीवनपर्यन्त मातृत्वको सागर
अविरल बगाइरहनुहोला ।
मन नदुखाउनुहोला आमा
दुखेर बाँच्न निकै गाह्रो छ ।
शिर नझुकाउनुहोला आमा
झुकेर बाँच्न अझैं गाह्रो छ ।
मनको बह नकहनुहोला कसैसँग
दुखेर बाँच्न निकै गाह्रो छ,
बचन नचुकाउनुहोला आमा
चुकेर बाँच्न झनैं गाह्रो छ ।

कति खुसी हुनुहुन्थ्यो होला आमा,
पहिलो सन्तान जन्माउँदाको दिन
आफैँ आमा बनी
कहिल्यै नसकिने मायाको
खानी खन्दाको दिन
कति खुसी हुनुहुन्थ्यो होला आमा !

मलाई काखमा सुताएर
आँखा जुधाई–जुधाई
छाती चुसाउँदाको दिन
कति खुसी हुनुहुन्थ्यो होला आमा
प्रसव वेदनाले
छटपटाइरहेका बेला,
च्याँ च्याँ को आवाज
आफ्नै कानमा गुन्जिँदा
मेरो अनुहारमा हेरेर
कति मुस्कुराउनुभयो होला आमा !
मैले त कल्पना पनि गर्न सक्दिनँ
पिठ्युमा ‘अर्नी’को झोला बोकेर
मलाई कन्दारकुटी हाल्दै
खेतबारीमा मेलापात जाँदा
कति सपना बुन्नुहुन्थ्यो होला आमा !

खेताला भोकाइसके भन्दै
मलाइ काखीमा च्यापेर
चौरको बारीमा कोदो रोप्न जाँदा
सपनाको माला कति
उन्नुभयो होला आमा !
मलाइ खेतको डिलमा राखी
आली–कान्लामा घाँस काट्दा
कति सुखद आगतको
कल्पना गर्नुभयो होला आमा !

आज माघ १५ गते बिहीबारकै दिन
धर्तीमा पहिलो पाइला टेकेको दिन
पहिलो सन्तानका रूपमा
तपाईंको कोखबाट
म जन्मेको दिन
कति खुसी हुनुहुन्छ होला आमा !

मेलापात गर्दा छाती चर्केका बेला
मेरो म्वाइँ खाँदै दुध चुसाउँदा
सन्तानको खुसीका लागि
जिन्दगीको धागोमा सपनाको माला
कति उन्नुहुन्थ्यो होला आमा !

कति महान् हुनुहुन्छ मेरी आमा
आफ्ना समकालीनसँग
वेदनाको पोको फुकाउँदा
अनि खपिनसक्नु
चोट पर्दा पनि,
सन्तानको खुसीका लागि
मुसुक्क हाँसिदिनुहुन्थ्यो मेरी आमा
कति महान् हुनुहुन्छ मेरी आमा
अहिले पनि केही भन्नुभएन
मलाई हुर्काउँदा–बढाउँदा
अनि पढाउँदाको समयमा
उनेका सपनाका मालाहरू
कति होलान् आमा
मनको सिरानीमुनि चाङ लगाएर
राख्नुभएको छ होला है !
अरूको लाखले पनि
तपाईंको काख छल्न सकेन आमा,
फेरि पनि कसैको लाखले
तपाईंको मातृत्वको साख
छल्न सक्दैन आमा ।

घाँस–दाउरा, मेलापात गर्दा
तपाईंले उनेका सपनाका मालाहरू
ओइलाउनेछैनन्,
भरोसा रित्तिनेछैन र
विश्वास पखालिनेछैन
त्यसैले,
मन नदुखाउनुहोला
दुखेर बाँच्न निकै गाह्रो छ
शिर नझुकाउनुहोला
झुकेर बाँच्न अझै गाह्रो छ
बचन नचुकाउनुहोला आमा
चुकेर बाँच्न झनै गाह्रो छ !

प्रतिक्रिया दिनुहोस्