३ श्रावण २०८३, आईतवार

 

विद्यालय बगेपछि खुला आकाशमुनि कठ्यांग्रिँदै भुजीखोलाका विद्यार्थी

दिउँसो एक बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्यांग्रिन थाल्छन् । भुजीखोलाछेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेल परेपछि घर फर्कन्छन् ।

बिहान १० देखि एक बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको स्याँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल पनि फाटेर धुजाधुजा छन् । यस्तो कठिन स्थितिमा कसरी पढ्दा हुन्, ती कलिला बालबालिका ? ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित उक्त विद्यालयमा पुग्दा जो–कोहीको मनमा प्रश्न उब्जन्छ । ‘कक्षाकोठामा सिकाइमैत्री वातावरण’को आदर्श वाक्यले गिज्याइरहेको आभास मिल्छ ।

गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालयको भवन बगाएपछि बालबालिकालाई खुला चौरमा राखेर पढाउन शिक्षक बाध्य छन् । ‘बाढीले नामोनिसान नराखी विद्यालय लग्यो, कुनै विकल्प नभएपछि खुला चौरमा राखेर पढाउनुपरेको हो,’ प्रधानाध्यापक रामबहादुर घर्तीमगरले भने ।

अहिले विद्यालयसँग कक्षाको समय जनाउका लागि घण्टीसमेत नभएको उनले सुनाए । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अधिकांश दलित समुदाय र न्यून आय भएका परिवारका बालबालिका पढ्छन् । यसै त कमजोर हालतमा रहेका बालबालिकालाई प्राकृतिक विपत्तिले झन् मार थपेको छ ।

चिसो झेल्न न्यानो कपडादेखि पाठ्यपुस्तकलगायत शैक्षिक सामग्रीको अभाव छ । भविष्यका कर्णधार बालबालिका पीडादायी स्थितिबाट गुज्रिरहेका छन् । स्तरीय र बालमैत्री सिकाइको अवसरबाट उनीहरू वञ्चित छन् । प्रधानाध्यापक घर्तीमगरका अनुसार अझै दुई÷तीन महिना ती बालबालिका कक्षाकोठामा फर्कन पाउनेछैनन् ।

‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दुईकोठे भवन बन्दै छ, त्यसैलाई बारबुर पारेर भए पनि कक्षा चलाउनुपर्ला,’ उनले भने, ‘तत्काललाई अस्थायी प्रकृतिको टहरा बनाउने भनेर सोचेका थियौँ तर कतैबाट स्रोत जुटेन ।’ घर्तीमगरले स्थलगत अवलोकनपछि विद्यार्थीको अवस्था देखेका त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदले कुनै सहयोग नगरेकामा दुखेसो व्यक्त गरे ।

नगरपालिकाले भने ३० थान बेन्चका लागि बजेट दिएपछि अहिले काम भइरहेको विद्यालयले जनाएको छ । पुनर्निर्माण प्राधिकरणमार्फत बनिरहेको भवन वैशाखसम्म सक्ने लक्ष्य छ । सोही भवनमा तला थप्नका लागि अमेरिकामा रहेका प्रवासी नेपालीबाट रू. २५ लाख रुपैयाँसमेत नगरपालिकाको राहत कोषमा जम्मा भइसकेको जनाइएको छ ।

भवन बनाउने जग्गा खरिदका लागि सोही ठाउँबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका प्रवासीले ३० लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराएका थिए । शिक्षक जमुना पुनमगरले चिसो भुइँमा राखेर बालबालिकालाई पढाउँदा साह्रै पीडाबोध हुने गरेको बताइन् ।

‘धेरै गाह्रो अवस्था छ, न बोर्ड छ, न शैक्षिक सामग्री, घाम हुन्जेल जेनतेन पढाउँछौँ, त्यसपछि यहाँ बस्नै सकिँदैन, विद्यालय भवन छिटो बन्दियोस् भन्ने लागेको छ,’ उनले भनिन्, ‘पानी परिहाले ओत लाउने ठाउँसम्म छैन ।’

कक्षा २ मा अध्ययनरत अंकित विकले दुवाल गाउँदेखि एक घण्टा हिँडेर विद्यालय आउने गरेको बताए । जाडो याममा धुलो भुइँमा बसेर पढ्दा गाह्रो भइरहेको उनले सुनाए । उक्त विद्यालयमा बाढीमा अभिभावक गुमाएका नौ बालबालिका पढ्छन् । कुल १५० मध्ये अधिकांश बालबालिका बाढीबाट प्रभावित परिवारकै छन् ।

प्रधानाध्यापक घर्तीमगरलगायत अन्य शिक्षकका परिवार पनि बाढीबाट प्रभावित छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले विद्यालय पुनर्निर्माणलगायत शैक्षिक सुधारका काममा नगरपालिकाकै नेतृत्वले पहलकदमी लिनुपर्ने बताए ।

‘बाढीपीडित राहत कोषमा पनि रकम जम्मा भएको छ, त्यसलाई परिचालन गर्ने र अन्य स्रोत पनि जुटाएर काम अघि बढाउनुपर्छ,’ उनले भने ।
नगरपालिकाको राहत कोषमा देशविदेशबाट गरी हालसम्म झन्डै २ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम बाढीप्रभावित परिवारको पुनःस्थापनामा खर्च गरिने नगरपालिकाले जनाएको छ । संघ र प्रदेश सरकारले पनि पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन् । यसअघि सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण थाल्ने निर्णय गरेको थियो ।

बाढीले सोही वडाको सरस्वती आधारभूत विद्यालयका तीन कोठा र शौचालय पनि क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा सो विद्यालयका कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । भुजीखोलामा आएको बाढीले ठूलो धनजनको क्षति निम्त्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung