१५ कार्तिक २०८३, शनिबार

 

किशोरी हत्या प्रकरण : अनुसन्धान गर्न प्रदेश प्रहरीको छुट्टै टोली

बैतडीमा किशोरीको हत्या भएको घटना अनुसन्धानका लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले जिल्लाको अनुसन्धान टोलीलाई सघाउन एसएसपी पाण्डेयको नेतृत्वमा ४ सदस्यीय छुट्टै अनुसन्धान टोली गठन गरेको हो। टोलीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी पनि छन् ।

शुक्रबार राति बैतडी पुगेको एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोलीले पनि घटनाको सूक्ष्म अनुसन्धान अगाडि बढाएको हो। यो टोलीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीको अनुसन्धान टिमलाई प्राविधिक पाटोमा सघाइरहेको छ। डीएसपी अधिकारी र एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनाको सूक्ष्म अनुसन्धानमा सक्रिय रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएर सोधपुछ गर्ने काम भइरहेको छ।

‘घटनास्थलबाट उठाइएका सबुत प्रमाणहरूमाथि अनुसन्धान टोलीले गहन विश्लेषण गरिरहेका छन्’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने, ‘सन्दिग्ध बुझ्ने काम भइरहेको छ। शंकास्पदलाई ल्याउने, सोधपुछ गर्ने काम गरिरहेका छौँ।’ घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको उनले बताए। ‘घटनास्थलबाट संकलित सबुत, प्रमाणमध्ये केही त्यहीँ विश्लेषण भइरहेको छ। केही परीक्षणलाई काठमाडौँ पठाउने तयारी पनि भइरहेको छ’, एसएसपी सिंहले भने।

प्रहरीका अनुसार हत्या गरिएकी किशोरी भागरथीसँग नजिक रहेका तथा घटनाबारे थाहा भएकाहरूमाथि निगरानी बढाइएको हो। ‘मृतकको सम्पर्कमा रहेका, अन्तिम पटक देख्ने लगायत शंकास्पद व्यक्तिहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ’, जिप्रका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले भने।

प्रहरीले अनुसन्धानमा किशोरीले प्रयोग गर्ने मोबाइल पनि पछ्याइरहेको स्रोतले बतायो। घटनास्थलमा भेटिएको किशोरीको मोबाइल, सिमकार्डबारे पनि अनुसन्धान टोलीले विश्लेषण गरिरहेको छ। धनगढीबाट मगाइएको तालिमप्राप्त कुकुरले घटनास्थलबाट मोबाइल र सिमकार्ड फेला पारेको थियो।

बुधबार विद्यालय गएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्ट (भूमिका) को बिहीबार साँझ घरनजिकैको लबलेक सामुदायिक वनमा झाडीमा हत्या गरी फालेको अवस्थामा शव भेटिएको थियो। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung