गत साता अमेरिकी ब्रान्ड हार्ले डेभिडसनको काठमाडौंस्थित सोरुम बन्द भयो। आइएमई ग्रुपअन्तर्गतको आइएमई अटोमोटिभ्सले गैह्रीधारास्थित उक्त सोरुम दुई करोड लगानीमा सुरु गरेको थियो। २०७५ सालको नाडा अटोसोमार्फत ग्रुपले भित्र्याएको संसारकै चर्चित ब्रान्ड हार्ले यहाँ मुस्किलले तीन वर्ष पनि टिकेन।
यो अवधिमा कम्पनीले १५–१६ वटा मोटरसाइकल बेच्न सक्यो भने ४–५ वटा स्टकमा रहेको आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले जानकारी दिए।
‘बिक्री भए न आयात गर्ने हो। कम्पनीले अहिलेभन्दा सानो आकारमा रहनुपर्छ भनेर नयाँ तरिकाले जान लागेका हौं। ब्रान्ड नै बन्द भने गरेको होइन,’ उनले भने, ‘बिक्री नभएका कारण हालका लागि आयात रोकिएको हो।’ आयात रोके पनि बिक्रीपछिको सेवा कायमै रहने कम्पनीले जनाएको छ।
उनका अनुसार अहिले नबिकेका मोटरसाइकल राख्न नयाँ ठाउँमा अर्को सामान्य सोरुम बनाउने तयारी भइरहेको छ। नेपालीका लागि एकदमै महँगो हार्ले मात्रै होइन, आइएमई अटोमोटिभ्सले मध्यम मूल्यको अमेरिकी कम्पनीकै यूएम मोटरसाइकल बिक्री पनि रोकेको छ।
व्यवसायीका अनुसार सामान्य भाषामा ‘बिग बाइक’ भनिने यस्ता मध्यम र उच्च मूल्यका मोटरसाइकलको नेपाली बजार एकदमै साँघुरो छ। यहाँ अधिकांश सवारी भारतबाट आउँछन्। बिक्रीपछिको सेवा, पाटपुर्जा उपलब्धता र सहज मर्मतसम्भारका कारण ग्राहक नेपालमा धेरै चलेको ब्रान्डकै सवारी किन्न रुचाउने व्यवसायीहरू बताउँछन् ।
तर यहाँ संख्यात्मक हिसाबले बजारमा अग्रस्थानमा रहेका ब्रान्डका पनि बिग बाइक खास नबिक्ने होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङका महाप्रबन्धक शोहन श्रेष्ठको भनाइ छ । होन्डाका सामान्य मोटरसाइकल जति बिक्छन्, त्यसको तुलनामा बिग बाइकको बिक्री नगण्य हुने उनले बताए।
‘हामीले धेरै बिक्री गर्न पाइन्छ भनेर ल्याएकै हुँदैनौं। सबै ग्राहकलाई सबै रेन्जका मोटरसाइकल उपलब्ध गराउन र होन्डाको प्रविधि देखाउन पनि बिग बाइक ल्याएका हौं,’ उनले भने । बिग बाइक भित्र्याउने सबै कम्पनीको बिक्री स्थिति उस्तै भएको जानकारहरू बताउँछन्।
बिग बाइकको बजार विस्तार नहुनुमा स्याकार ट्रेडिङका श्रेष्ठ भन्छन्, ‘पहिलो त हामीकहाँ यस्ता मोटरसाइकल चलाउने सडक नै छैन। अनि करका कारण पनि यो सामान्य नेपालीको आर्थिक क्षमताभन्दा धेरै पर्न आउँछ।’ आइएमईका भट्टराई पनि यसमा सहमत छन् । उनका अनुसार नेपालमा महँगा मोटरसाइकल बिक्री नहुनुको सबभन्दा ठूलो कारण आयस्रोत नै हो ।
‘यस्ता मोटरसाइकल रुचाउने समूहको आफ्नै आयस्रोत हुन सक्ने अवस्था विरलै हो। अभिभावकमै आश्रित हुनुपर्ने अवस्था छ। अनि आयस्रोत हुनेको मोटरसाइकलमा रुचि छैन,’ उनले भने। हार्लेको विषयमा भने विदेशमा जस्तो यहाँ ‘हार्ले कल्चर’ नभएको उनी बताउँछन्। ‘यहाँको सन्दर्भमा यो मोटरसाइकल किन्न सक्नेको अर्कै स्ट्याटस छ। हार्ले कल्चर भनेको जिउमा ट्याटु खोपाएर महिनौं टुरमा हिँड्ने हो। त्यो जमात नेपालमा छैन,’ भट्टराईले भने। नेपालको भौतिक संरचनाले पनि यस्ता बाइक प्रयोगमा नआएको उनी बताउँछन्।
यहाँ राजमार्गको अवस्था, सवारी चाप, पशु–चौपाया आदिका कारण यस्ता मोटरसाइकलको मजा लिन नसकिने भट्टराईको अनुभव छ। त्यस्तै राजस्व नीतिले पनि यस्ता मोटरसाइकल बिक्रीमा धक्का लागेको उनको तर्क छ।
‘सरकारले सीसीअनुसार कर बढाइदिँदा झन्डै एक तिहाइ मूल्य बढ्छ। यसले महँगो मोटरसाइकल झनै महँगो भयो,’ उनले भने । नेपालमा प्रिमियम गाडीको सम्भावना भए पनि प्रिमियम मोटरसाइकलको भविष्य अझै राम्रो नभएको भट्टराईको बुझाइ छ।
















































































































































































