१४ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु भएका एक जना कांग्रेस जिल्ला सदस्य भएको खुलेको छ । बागलुङकाे बडिगाड–१० दर्लिङमा आइबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु भएकामा प्रकाश कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य रहेको खुलेको हो । घटनाको कांग्रेसले निन्दा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेका हुन् । ‘घटनामा प्रकाश कुँवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य समेत हुन्,’ आइतबार प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ ।’

घटनाको पछाडि षड्यन्त्र हुनसक्ने आशंका कांग्रेसले गरेको छ । प्रवक्ता शर्माले दोषीहरुलाई तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् । ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung