विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका रूपमा वर्गीकरण गरेयता कोभिड–१९ बाट विश्वभर १८ करोड ५० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यो अविधमा कोरोनाले ४० लाखभन्दा बढीको मृत्यु भएको छ।
महामारीबीच खोपले विश्वलाई सामान्य अवस्थामै फर्काइदिने आशा गरिए पनि वैज्ञानिकहरू भने कोरोना भाइरस अझै लामै समय रहिरहनेमा विश्वस्त हुँदै गएका छन्। जनवरीमा विज्ञानसम्बन्धी एक प्रमुख जर्नल नेचरले विश्वभरका १०० जना भन्दा बढी इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट अनि स्वास्थ्य विज्ञहरूलाई सार्स कोभ–२ उन्मूलन गर्न सकिन्छ भनेर सोधेको थियो।
लगभग ९० प्रतिशतले ‘सकिन्न’ भन्ने उत्तर दिएका थिए। उनीहरूका अनुसार कोरोना भाइरस स्थानीय प्रकोप बनेर विश्वका विभिन्न क्षेत्रमा फैलिरहनेछ।
संक्रामक रोग उन्मूलन गर्ने कुरा सामान्य विषय होइन। डब्ल्यूएचओले हालसम्म दुईवटा भाइरल बिमारी आधिकारिक रूपमा उन्मूलन भएको घोषणा गरेको छ। ती हुन्, बिफर र रिन्डरपेस्ट हुन्। बिफरका कारण सन् १९८० को दशकमा उन्मूलन नहुँदासम्म ५० करोड मानिसहरूको ज्यान गएको थियो जसलाई भौगोलिक रूपमा वितरण र पहुँचका हिसाबले हेर्दा कोभिडसँग तुलना गर्न सकिन्छ।
बिफर उन्मूलन गर्न खोप विकासले अहम् भूमिका निर्वाह गरेको थियो। ‘दुर्भाग्यवश, हालसम्म विकास गरिएको कोभिड–१९ विरुद्धको खोपले त्यस्तै प्रभाव पार्न सकेका छैनन्। आज हामीसँग जुन खोप उपलब्ध छन् तिनले केही अवस्थामा संक्रमणलाई रोक्दैनन्।
तिनले संक्रमणलाई परिमार्जन र संक्रमितलाई कम गम्भीर भने बनाउँछन् । खोप लगाएका मानिसहरूले अरूलाई भाइरस सार्न सक्छन्,’ लन्डन स्कुल अफ हेल्थ एन्ड ट्रपिकल मेडिसिनमा इन्फेक्सीअस डिजिज इपिडेमीओलोजीका प्राध्यापक डेभिड हेम्यानले भने।
युनिभर्सिटी अफ इस्ट याङ्लिया (यूके)का प्राध्यापक पल हन्टर अझ एक कदम अगाडि बढेका छन्। ‘कोभिड कहिल्यै जानेछैन,’ उनी अनुमान गर्छन, ‘हामीले खोप लगाए पनि नलगाए पनि जीवनभर पटकपटक सर्ने कुरा अवश्यम्भावी छ।’ कोभिड–१९ स्थानीय रूपमा रहिरहनेमा विश्वास गर्ने कैयौँ विज्ञमध्ये प्राध्यापक हेमान पनि एक हुन् ।
उनको बुझाइमा फ्लू, भाइरस र रुघाखोकी लगाउने चार प्रकारका कोरोना भाइरसहरू पनि एन्डमिक अर्थात् स्थानीय रूपमा रहिरहनेछन् । डबल्यूएचओले वार्षिक रूपमा विश्वभर २९०,००० देखि ६५०,००० मानिसहरूको रुघासम्बन्धी कारणहरूबाट मृत्यु हुने गरेको आकलन गरेको छ। तर मृत्यु संख्या अनुमान गर्न सकिने भएका कारण यी रोगहरू व्यवस्थापन योग्य भएका छन्। कोभिड–१९ को अवस्था पनि भविष्यमा त्यस्तै हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।
‘यो अवस्थामा भाइरस रही नै रहन्छ तर मानिसहरूमा खोप वा प्राकृतिक संक्रमणका कारण प्रतिरोधी क्षमता विकास हुन्छ। भाइरसको एउटा उद्देश्य हुन्छ– सकेसम्म धेरै मानिसहरूमा फैलने जसका कारण उत्परिवर्तन हुनु सामान्य मानिन्छ। जीव विकासको दृष्टिकोणबाट हेर्दा भाइरसमा उत्परिवर्तन हुनुपर्छ ताकि यो धेरै मानिसमा पुगोस्।
धेरै सहज रूपमा फैलने भाइरस सफल भाइरस हो,’ अक्सफोर्ड विश्वविद्यालयमा ग्लोबल हेल्थ विषयकी प्राध्यापक ट्रुडी ल्याङ भन्छिन् । फ्लू, भाइरसमा परिवर्तन यति सामान्य छ कि प्रत्येक वर्ष स्वास्थ्यसम्बन्धी निकायहरूको सञ्जालले यसको समीक्षा गर्ने गर्छ। टिटानसजस्ता अन्य रोगहरू पनि छन् जसका लागि जीवनभरि नै बुस्टर खोपको आवश्यकता पर्छ।
कोरोनाका कम्तीमा चारवटा भेरियन्ट विकास भइसकेका छन् जसमा भारतमा पहिलो पटक पहिचान भएको निकै धेरै संक्रामक डेल्टा भेरियन्ट पनि छ। उक्त भेरियन्टका कारण हाल युरोप, एसिया र अमेरिकामा संक्रमण दर बढिरहेको छ।
तथ्यांकहरूका अनुसार खोप डेल्टा भेरिअन्टमा प्रभावकारी देखिएको छ। पब्लिक हेल्थ इङ्ल्यान्डका अनुसार फेब्रुअरीदेखि जुन महिनाबीच यो भेरियन्ट लागेर अस्पताल पुगेका ८२ प्रतिशत मानिसहरूले या त खोप लगाएका थिएनन् या खोपको एक मात्रै मात्रा लगाएका थिए। यद्यपि ब्रिटेनको नेसनल हेल्थ सिस्टम (एनएचएस)ले जाडो मौसमअघि तीन करोड तेस्रो मात्रा वा ‘बुस्टर’ लगाउने योजना बनाएको छ।
अमेरिकामा नेसनल इन्स्टिच्युट अफ हेल्थले ‘बुस्टर’ले एन्टीबडी बढाउने र लामो समय सुरक्षा दिनेरनदिने कुरा पत्ता लगाउन खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा क्लिनिकल ट्रायल सुरु गरेको छ। साँचो के हो भने कोभिड–१९ विरुद्धको खोपबाट विकास भएको प्रतिरोध प्रणालीले कति लामो समय काम गर्छ भन्ने कुरा वैज्ञानिकहरूलाई पनि थाहा छैन।
संक्रमण र अस्पतालमा भर्ना हुने दर बढेसँगै विभिन्न देश र क्षेत्रहरूले यात्रा र हिँडडुलमा प्रतिबन्ध लगाउनुपरेको थियो। यसले रोग फैलने क्रमलाई सुस्त पार्न मद्दत गरेको थियो भने स्वास्थ्य प्रणालीमा चाप घटाएको थियो। तर यसले अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको थियो। बेरोजगारी पनि बढेको थियो।
के अझै लकडाउन स्थानीय परिदृश्यका रूपमा रहिरहन सक्छ ?
यो खोप कार्यक्रमको सफलतामा भर पर्ने विज्ञहरू बताउँछन्। ‘पछिल्ला केही महिनामा हामीले स्थानीय स्तरमा गरिएका वा देशव्यापी रूपमा गरिएका पहलहरू देखेका छौँ। अस्ट्रेलियाले कैयौँ सहरहरूमा लकडाउन गरेको छ भने बंगलादेशले देशव्यापी रूपमा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ।
सम्भव भएसम्म प्रकोपलाई सम्बोधन गर्ने क्रममा सरकारका लागि लकडाउन अत्यावश्यक अस्त्र बन्नेछ,’ सिटी युनिभर्सिटी अफ हङकङका हेल्थ सेक्योरीटी विषयका सह प्राध्यापक निकोलस टमसले ब्लुम्बर्ग समाचार संस्थालाई भने।
वैज्ञानिकहरूले खोप लगाएकाहरूको संख्या धेरै रहेका स्थानमा समेत कोभिड–१९ सँग जुझ्ने विकल्पका रूपमा मास्कको प्रयोगलाई समर्थन गर्दै आएका छन्। मास्कको प्रयोग केही एसियाली राष्ट्रहरूमा व्यापक छ। तर संसारका अन्य स्थानमा भने अवस्था त्यस्तो छैन। हाल सरकारहरू भाइरसबाट आफ्ना सर्वसाधारणलाई जोगाउने र सीमा बन्द गरिएका कारण भएको आर्थिक नोक्सानीका बीच बाँडिएका छन्।
विभिन्न देशको विभिन्न नियम छ र प्राध्यापक हेम्यान जस्ता विज्ञहरू उनीहरूको नजरमा खराब रूपमा गरिएको विश्वव्यापी संयोजनको आलोचना गर्छन्। ‘समानुपातिक रूपमा खोप वितरण नभएका कारण डब्ल्यूएचओले ‘खोप राहदानी’ सिफारिस गर्दैन। तर मलाई लाग्छ कि केही राष्ट्रहरूले यसको प्रयोग गर्नेछन्,’ उनले भने।
युरोपेली संघले डिजिटल कोभिड प्रमाणपत्र सार्वजनिक गरिसकेको छ जसले त्यहाँका नागरिक र बासिन्दाहरूले खोप लगाएको, नेगेटिभ रहेको परीक्षण नतिजा आफूसँग भएको वा हालसालै मात्रै रोगबाट निको भएको अवस्थामा सदस्य राष्ट्रहरूमा बिना कुनै रोक तोक घुम्न पाउनेछन्।
खोप राहदानीलाई संघका २७ वटै सदस्यराष्ट्रहरूले मान्यता दिएका छन्। त्यसबाहेक आइसल्यान्ड, नर्वे र स्विट्जरल्यान्डले पनि यसलाई मान्यता दिएका छन्। तर विश्वभर एउटा देशबाट अर्को देश जाने विषयलाई कसरी व्यवस्थापन गरिनेछ, पर्खनै पर्ने हुन्छ ।













































































































































































































