६ जेष्ठ २०८१, आईतवार

 

पोखरामा सुविधासम्पन्न भेटेरिनरी अस्पताल भवनको शिलन्यास

गण्डकी प्रदेशको राजधानी पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल (नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आइतबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले शिलन्यास गरेका छन् ।

पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अस्पताल निर्माण कार्य अघि बढाइएको हो ।

सुविधासम्पन्न साढे दुई तलाको मोडेल अस्पताल भवन पाँच करोड ५४ लाख ४७ हजार २६४ लागतमा आगामी विसं २०८० साउन १० गतेभित्रमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ११ गते सिद्धबाबा/फुल्जोर जेभि स्याङ्जासँग ठेक्का सम्झौता गरिएको वरिष्ठ पशु विकास अधिकृत एवं कार्यालयका प्रमुख डा शोभा शर्माले बताए ।

उनका अनुसार सुविधासम्पन्न अस्पताल भवनमा प्रयोगशाला, अपरेशन कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबको सुविधा रहने । यसैगरी पशुपन्क्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुटटै कक्ष रहने बताइन्छ ।

कार्यक्रममा मन्त्री बुढाले भेटेरिनरी अस्पतालका लागि भवन निर्माण शुरुआत हुनु प्रदेशका लागि ऐतिहासिक र दीर्घकालिन महत्वको कार्य भएको बताए ।

पशुपन्क्षीको उपचारका लागि निर्माण हुने अस्पताल पशुपन्क्षीसँग मात्र सम्बन्धित नरहेको बताउँदै उनले भवन निर्माणपछि अस्पतालमा उपलव्ध हुने सेवा वातावरणीय र मानवीय स्वास्थ्यसँग समेत जोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्