पोखरा बागलुङ सडक खण्डा बागलुङ नगरपालिका १ खनियाघाटमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बागलुङ नगरपालिका १ खनियाघाटमा शनिबार साँझ १ महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।बागलुङ नगरपालिका वडा नम्बर १ खनियाघाटकी ४० वर्षीय फुलमायाँ माझीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताए ।
घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको थापाले बताए ।
माझी शनिबार दिउँसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक छेउ शनिबार साँझ माझी बस्ती नजिकै मृत अवस्थामा आफन्तले फेला पारेका थिए ।
शवको प्रकृति हेर्दा मृतकका कानमा रहेका गरगहना चुडालिएकोले र मोबाइलसमेत हराएकोले लुटपाटपछि हत्या गरिएको हुन सक्ने बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जय बहादुर केसीले बताए यद्यपि घटनाको थप विवरण भने पोस्टमार्टम रिपोर्टपछि आउने धौलागिरि अस्पतालले जनाएको छ ।
शवलाई धौलागिरि प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन् ।













































































































































































































