२३ बैशाख २०८१, आईतवार

 

बागलुङ नगरमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी हुँदै

बागलुङ । बागलुङ नगरपालिकामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी बनेको छ ।फागुण ११ गते धौलागिरि अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई औषधी खुवाएर यो अभियानको सुभारम्भ गरिएको थियो ।

फागुण १० गते सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको छ । फागुण ११ गतेदेखि नगरको सबै वडाहरुमा औषधि खुवाउनेृ कार्यक्रम प्रभावकारी ढंगले चलि रहेको बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाका सिअहेव अधिकृत तथा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानका फोकल पर्सन विष्णु प्रसाद शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

यो अभियान सफल बनाउन स्वास्थ्य चौकीका १ सय ५५ जना स्वास्थ्यकर्मी र १ सय ९९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु खटी रहेका छने भने उनीहरुलाई यस पालि जनप्रतिनिधिहरुले पनि सघाई रहेका छन् । नगर स्वास्थ्य शाखाले  ५९ हजार १ सय ३३ जनालाई औषधि खुवाउने लक्ष्य राखेको छ ।

विहिबारसम्म ५३ हजार १ सय ७० जनाले औषधि सेवन गरी सकेका छन् । यस अभियानलाई प्रभावकारी बनाउन नगर स्वास्थ्य शाखाले नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, नेपाल पत्रकार महासंघ बागलुङ शाखा, बागलुङ उद्योग वाणिज्य संघ, औषधी व्यवसायी संघ, जिल्ला समिति बागलुङ, विवाईसि फेहरमेड र राष्ट्रिय उपभोक्ता मंच बागलुङसँग पनि सहकार्य गरेको छ ।

औषधि सेवन गरेपछि औषधि सेवन कार्ड सेवाग्राहीलाई वितरण गरेको छ जुन अहिलेसम्मको नयाँ कार्यक्रम हो । अहिले स्वास्थ्यकर्मीहरु घरदैलोमा पुगिरहेका, संचार माध्यमहरुमा सकरात्मक सामग्रीहरु आएको र जनप्रतिनिधिहरुले नागरिकलाई औषधि खान आग्रह गरिरहेकोले यो कार्यक्रमले राम्रो नतिजा दिएको छ ।

हात्तीपाइले औषधिबारे फैलिएको भ्रमहरुलाई चिर्न र औषधिका फाइदाहरुको बारेमा जानकारी दिन नगर स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालको नेतृत्वमा बजार र गाउँहरुमा नागरिकहरुसँग भेटघाट चलि रहेको छ । औषधि खुवाउने कार्यक्रम फागुण २४ गतेसम्म चल्ने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

हात्तीपाइलेविरुद्धको औषधिको नकारात्मक धारण चिर्न सबैले साथ दिएकोले स्वास्थ्यकर्मीलाई पनि औषधि बारे बुझाउन र खुवाउँन सजिलो भएको छ ।अघिल्ला वर्षहरुमा लक्ष्य अनुसारको जनसंख्याले औषधि नखाइदिंदा बागलुङ जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोग निवारण हुँन सकेको थिएन । पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्