बागलुङ । नयाँ वर्ष (न्हू दँ) नेपाल संम्वत्को उपलक्ष्यमा बागलुङमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । न्हू दँ ११४४ नयाँ वर्ष मूल आयोजन समिति, बागलुङले नेपाल संम्वत्को बारेमा जानकारी दिने उद्देश्यले सोमबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रुपमा रहेको बताउनु भयो ।
नेपाल संम्वत् नेपाली माटोमा जन्मिएको मौलिक संम्वत् भएको श्रेष्ठले बताउनु भयो । जनताको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको सम्मान गर्न नगरपालिका प्रतिवद्ध भएको बताउनु भएको छ । नेपाल भाषा मंकाखल बागलुङका पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठले नेपाल सम्वतको बारेमा जानकारी गराउनु भएको थियो ।
राजा राघव देवको पालादेखि सुरु भएको नेपाल संम्वत् राजा पृथ्वी नारायण शाहले शासन लिनु भन्दा अगाडिसम्म प्रचलनमा रहेको श्रेष्ठले जानकारी दिनु भयो ।
बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा शाक्य कल्याण समाजका अध्यक्ष राजन कुमार शाक्य, नेवा मिसा दवुका अध्यक्ष सोमना शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । बागलुङ जेसीजको संयोजनमा आज विहान नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा लोकतान्त्रिक चोकबाट भिन्तुना शुभकामना मोटरसाइकल र्याली निकालिएको थियो ।



कात्तिक २८ गतेदेखि नेपाल संवत् ११४४ सुरु हुँदै
नेपाल संवत् ११४४ कात्तिक २८ गतेदेखि सुरु हुँदै छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ ९इस्वी संवत ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए । सोही संवतका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिँदै छन् ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउँछन् ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो,’ मानन्धर भन्छन्, ‘लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, बागलुङ, पर्वत, म्याग्दीलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।


























































































































































































































