१५ बैशाख २०८१, शनिबार

 

बागलुङ महिला समाज कल्याण केन्द्रको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । बागलुङ महिला समाज कल्याण केन्द्रको दोस्रो वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिति बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले महिलाहरुको प्रगतिको लागि सामाजिक र आर्थिक विकास अनिर्वाय भएको बताउनु भयो ।

महिलाहरुलाई समाजको हरेक पक्षसँग जोडेर उनीहरुको समग्र विकासको लागि उनीहरुले नै नेतृत्व लिनु पर्ने उहाँको भनाई थियो ।

यसको लागि हरेक महिलामा भएको सकरात्मक पक्षलाई संस्थाको हितमा प्रयोग गर्न सके त्यसको लाभ सामान्य गृहणी महिलाहरुले पनि पाउने श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा महिला उद्यमी विकास समिति बागलुङकी संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठ, सत्य साई केन्द्र बागलुङकी निर्वतमान अध्यक्ष चयन देवी श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ, नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सचिव जुनु श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरु जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नव गायक सिमरन परियारलाई सम्मान गरिएको थियो । कार्यक्रम बागलुङ महिला समाज कल्याण केन्द्रकी अध्यक्ष कुमारी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष मिला राजभण्डारीको स्वागत र सचिव जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ महिला समाज कल्याण केन्द्रको कोष निर्माणको लागि नव निर्वाचित अध्यक्ष मिला राजभण्डारीले २५ हजार, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले १५ हजार, माँ भद्रकाली समूहकी संस्थापक सुन्दरी श्रेष्ठले १० हजार, सिर्जु राजभण्डारीले ११ हजार, व्यवसायी मनोविज्ञान श्रेष्ठले १० हजार र बेल्जियम निवासी कल्पना शाक्यले १० हजार सहयोग प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्