बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखामा रहेको सिद्धार्थ शिक्षा सदनले भदौ १४ देखि १५ गतेसम्म माध्यमिक स्तरिय बास्केट बल प्रतियोगिता गर्ने भएको छ।
बिहीबार तेस्रो संस्करणको अन्तर माध्यमिक स्तरिय बास्केटबल प्रतियोगिताको ट्रफी पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो ।
प्रतियोगितामा बागलुङ र पर्वतका संस्थागत र सामुदायिक गरी १२ विद्यालयका १३ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक भोजेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी, हाइस्कोर र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न ५० हजार रुपैयाँ खर्च लाग्ने जनाईएको छ ।
कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले राज्यको खेलकुद नीति र वनको ऐन नियमले बाङ्गेचौर खेल मैदानमा पूर्वाधार निर्माणको काम हुन नसकेको बताए ।
उनले हाल मैदानमा दुबो रोप्ने काम भएकोले केही समय मैदान बन्द गरिएको जानकारी दिए ।
अध्यक्ष खड्काले खेलकुदलाई बजेटमै विभेद गरिने उनको भनाई थियो ।
किशोर किशोरीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्दै राज्यलाई स्वस्थ्य खेलाडी प्रदान गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको प्रधानाध्यापक थापाले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका शिक्षक नगेन्द्र मल्लले संचालन गर्नुभएको थियो ।
शुक्रबार र शनिबार संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सिद्वार्थ निलो र चिल्ड्रन लाइफ इङ्गलिस बोर्डिङ्ग स्कुलबीच हुनेछ ।















































































































































































































