१९ असार २०८३, शुक्रबार

 

डेङ्गी रोग के हो ? लक्षण र बच्ने उपायहरु

डेङ्गी रोगको बारेमा जनचेतना फैलाउने र ठाँउठाँउमा लामखुट्टे मार्ने औषधी छर्ने काम भएको छ तर घरघरमा गएर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट नगरुन्जेल डेङ्गीको सङ्क्रमण नरोकिने देखिएको छ ।

डेङ्गी कसरी ?

बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ।प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ।

यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ।यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन।यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।

सावधानीको उपाय के ?

घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ।बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।

घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ।औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नु पर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत माइक्रोबायोलोजी तथा इन्फेक्सस् डिजिज् विभागका प्रमुख डा। वसुधा खनालले बताइन्।

उनका अनुसार डेङ्गीको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ।डा। खनाल भन्छिन्स् यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको रोकथाम नै हो। लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।

लामखुट्टेसँगै यसको प्रजनन गर्ने कार्य रोक्नुपर्छ। कसैको दिउँसो सुत्ने बानी भए पनि झुल प्रयोग गर्नुपर्छ। घरका झ्यालढोकामा जाली राख्नुपर्छ।

डेङ्गी भएको कसरी थाहा पाउने ?

डेङ्गी हुँदा एक्कासी चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्ने डा। खनालले बताइन्।उनी भन्छिन्, यो अरू ज्वरो जस्तै भएकाले छुट्टयाउन गाह्रो हुन्छ। त्यसैले चाँडै नजिकैको अस्पतालमा जचाउन जानुपर्छ।

क्लिनिकल माइक्रोबायोलोजिस्ट डा। खनालका अनुसार बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ।जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जान्छ।

सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेङ्गी ज्वरोबाट आफै निको पनि हुन सक्छन्।डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने,झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खानु पर्छ।

नेपालमा डेङ्गी कहिले सुरु भयो ?

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा। समीरकुमार अधिकारीले जानकारी दिए।

त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशस् बढ्दै गएको छ। त्यस यता नेपालमा १४ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन्।सन् २०१७ मा सबैभन्दा बढी २ हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो।

शाखा प्रमुख अधिकारीका अनुसार नेपालमा डेङ्गी भारतलगायतका देशबाट आएको भनिए पनि केही वर्षयता रैथाने डेङ्गी भाइरस पनि देखा परेको बताइएको छ।स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालका पहाड देखि तराईका विभिन्न जिल्लामा डेङ्गी रोगको सङ्क्रमण बढ्ने क्रम जारी छ।

चिकित्सकहरूका अनुसार डेङ्गी रोगको प्रकार थाहा पाउन सेराटाइपिङ जाँच गर्नुपर्छ। सो मेसिन भएपनि जाँच गर्दा चाहिने सामग्री भने नेपालमा अभाव रहेको बताइन्छ।विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गी रोगलाई जनस्वास्थ्यको प्रमुख चुनौतीमध्ये एक मानेको छ। संसारभर यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung