बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८३-८४ मा डेंगु संक्रमितको संख्या ६४६ पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट संकलन गरिएको विवरणअनुसार डेंगु संक्रमण देखिने क्रम तिब्र बनेको हो ।
जिल्लाका दश स्थानीय तहमा फैलिएको डेङ्गु सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिकामा ४५९ जना रहेका छन् ।
त्यसपछि काठेखोला गाउँपालिकामा ४४, गलकोट नगरपालिकामा ४३, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, निसीखोला गाउँपालिकामा सात, बडिगाड गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा तीन तथा ताराखोला र तमानखोला गाउँपालिकामा दुई–दुई जना संक्रमित भएका छन् ।
अन्य जिल्लाका ३८ जनामा समेत डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
धौलागिरि अस्पतालमा सबैभन्दा बढी ५८३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गलकोट नगर अस्पतालमा ३६, बुर्तिबाङ अस्पतालमा २४, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र हुग्दिशिर स्वास्थ्य चौकीमा एक जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीहरूले पानी जम्ने स्थान हटाउने, घर तथा वरपरको वातावरण सफा राख्ने र लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गर्दै आएका छन् ।
















































































































































































