५ जेष्ठ २०८१, शनिबार

 

अब्राहम लिंकनकाे चिठी !

ह्वाइट हाउस
वाशिङ्टन डि.सि.
श्रीमान् प्रधानाध्यापक
मेरो छोराले के सिकोस् ?
मेरा छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस पनि छन् र सज्जन मानिस पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन समय त लाग्ला नै तैपनि उसलाई परिश्रम गरी कमाएको १ डलर, सित्तैमा पाएको ५ डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइ दिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै ईष्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेको चराहरु, घमाइलो दिनमा भुन्भुनाईरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फूलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् । मेरो छोरो जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्टाउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिलेकाही आँखाबाट आँसु झर्न लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जीउज्यानले लागिपरोस् । ऊ भित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढशक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहि होइन । सम्झनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ । ऊ भित्र साहस र सधैं केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुनसक्छ ।
तपाईको अब्राहम लिंकन

प्रतिक्रिया दिनुहोस्