४ श्रावण २०८३, सोमबार

 

‘स्वास्थ्य संस्थामै प्रसुती लिएकी मुना यसरी मातृ मृत्युको सिकार बनिन्’

सुत्केरी भएपछि अचानक बेहोस भएर ढलेकी गलकोट काँडेबासकी मुना छन्त्याल दर्लामीको तत्काल स्तरिय उपचार नपाएर ज्यान गएको छ । आईतवार विहान २ बजे काँडेवास स्वास्थ्य चौकीमा छोरा जन्माएकी १९ बर्षीय उनी एक घण्टापछि अचानक बेहोस भएर भुँईमा लडेकी थिईन् ।

गलकोट नगरपालिका वडा नम्बर–८ काँडेवास झरमौराकी छन्त्याल एक्कासी ‘मुटु दुख्यो’ भनेर बेहोस भएको स्वास्थ्यचौकी प्रमुख मुकेशकुमार महतोले बताए । ‘पहिले राम्रै सुत्केरी हुनुभएको हो, अचानक बेहोस भएपछि हामीले थप उपचाराका लागि सिफारिस ग¥यो,’ महतोले भने,‘उहाँको मुटुको समस्या रहेछ, पछिमात्र आफन्तले भनेपछि हामीले थाहा पायौँ ।’ बच्चा जन्माएपछि उनको सामान्य रक्तश्राब भएको थियो ।

थप उपचारका लागि हटिया अस्पताल ल्याउँदा वित्तिकै डाक्टले उनलाई मृत भईसकेको बताए । छन्त्यालले जन्माएको शिशु भने स्वस्थ रहेको महतोले जानकारी दिए । उनका श्रीमान रोजगारीको सिलसिलामा कतारमा छन् । छन्त्यालले नियमित गर्भजाँच गराउँदै आएको स्वास्थ्यचौकीले जनाएको छ ।

उपचारका लागि समयमै राम्रो अस्पतालमा ल्याजान नसक्दा छन्त्यालको मृत्यु भएको गलकोट नगरपालिका वडा नम्बर–८ का अध्यक्ष रामप्रसाद कँडेलले बताए । ‘गाउँ घरमा सामान्य बर्थिङसम्मा गराउने व्यवस्था त छ तर अलि ठुलो समस्या आएमा उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान समय लाग्छ’ अध्यक्ष कँडेलले भने,‘उनको पहिले पनि मुटुको समस्या थियो भन्ने कुरा सुनियो, उनी आफैले समस्या लुकाईन् य परिवार समयमै सजग हुन सकेन ।’ सुत्केरी अवस्थाको संवेदनशिलताप्रति सवै चनाखो हुनुपर्ने उनले बताए ।

प्रसुतीपछि ज्यान गुमाएकी मुना छन्त्याल दर्लामी

छन्त्यालका आफन्त रामबहादुर सारुले अवस्था थप गम्भीर बने पछि अस्पताल लैजाँदा ढिलो भईसकेकाले ज्यानै गुमाउनुपर्ने अबस्था आएको दुखेसो पोखे । ‘पहिल्यै उनको मुटुको समस्या थियो, शरिरमा रगतको कमि पनि रहेछ क्यारे’ सारुले भने,‘हाम्रो समाजमा गर्भवती तथा सुत्केरी जस्तो अति संवेदनशीत अवस्थालाई त्यति गम्भिरतापुर्वक नलिने सोचका कारण पनि यस्ता दुखद् घटना हुने गरेका छन, सचेत भएर पुर्ब तयारी नगर्दा ज्यानैसम्म जाने घटनाबाट सबैले सिक्नुपर्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले प्रसुति हुने महिलालाई मुटुको समस्या भएकाले आफु र परिवारले समेत पुर्ब सजगता अपनउनुपर्ने बताए । उनले मुटुको समस्या हुनेले गर्भवती हुने नहुने भन्ने बारे स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने बताए । गर्भवती भएपछि पनि सवै सुविधा सहितको अस्पतालबाट प्रसुती सेवा दिनुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung