बागलुङको गलकोट नगरपालिका–७ मल्म सिरबारेकी एक महिलालाई आर्थिक अभावले उपचारमा समस्या भएको छ । टेक बहादुर दमाईकी श्रीमती ५४ बर्षीय कौशिला दमाई बिगत २ महिना देखि घाँटीको क्यान्सरबाट पिडित छन् ।
उनको पोखरामा सामान्य उपचारपछि अहिले वीपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर भएकी उनका छोराछोरी कोहि छैनन् ।
कसैको साहरा समेत नभएको र आर्थिक अभावले उनी अस्पतालको शैयाबाट मृत्युसँग लडिरहेको उनका आफन्त डिल बहादुर परियारले जानकारी दिएका छन । उनको उपाचार गर्न नगद ५ देखि ६ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । अहिले उनलाई उपचारमा सहयोग रसिदबाट करिब ४५ हजार संकलन गरिएको परियारले बताए ।
उनको जीवन रक्षाको लागि उपचारमा आर्थिक सहयोग गरिदिन उनका श्रीमान टेक बहादुर दमाईले सबैसँग आग्रह गरेका छन । उनलाई अहिले प्रत्येक २१ दिन किमो चढाउनु पर्छ । ‘अस्पतालले ६ लाख चाहिन्छ भन्छ, श्रीमतीको यस्तो अवस्था छ’, उनका श्रीमान टेकबहादुरले भने, ‘उपचार गर्ने पैसा छैन, कसरी बचाउने ?’
उनको उपचारको लागि दलित सञ्जाल मल्मले ५ हजार रुपैयाँ सहयोग गरेको छ । सञ्जालका अध्यक्ष ललित मरासिनीले उपचारमा सहयोग गरिदिन सबै सँग अपिल समेत गरेका छन ।













































































































































































































