७ जेष्ठ २०८१, सोमबार

 

ताराखोलामा ७ सय मिटर बढी लामो/अग्लो आकाशे पुल बनाउन अध्ययन

- अहिलेसम्म नेपालमा ४ सय मिटर भन्दा लामा पुल बनेका छैनन्

ताराखोला गाउँपालिकामा साबिकको अर्गल र हिल गाविसलाई जोड्ने गरि आकाशे पुल निर्माणका लागि प्ररम्भिक अध्ययन सुरु गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर–२ अर्गल पोग्राम (साबिक अर्गल–६) देखि ३ नम्बर वडा हिल ईदी(साबिक हिल–६) जोड्ने गरि पुल बनाउन सम्भाव्यता अध्ययन थालिएको हो ।  नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट अध्ययनको जिम्मेवारी पाएको कम्पनीका प्राविधिक र स्थानीय जनप्रतिनिधिलेको टोलीले स्थलगत सर्वे गरेको छ ।

मन्त्रालय अन्तरगतको आकासेपुल हेर्ने निकाय डोलिडारले अध्ययन प्रतिवेदन तयार गर्नका लागि ईन्जिनियरिङ एजुकेसन सार्भिस प्राली काठमाण्डौलाई जिम्मेवारी दिएको छ । अध्ययनको लागि जिम्मा पाएको कम्पनीका ईन्जिनियर सुरज कोईराला सहितको प्रविधिक टोली सर्वेका लागि ताराखोला आएको हो ।

प्रारम्भिक अध्यनको लागि आएको प्रविधिक टोली र वडा नम्बर–२ का अध्यक्ष भद्रबहादुर घर्ती सोनाम सहित स्थानीय अगुवाले नापजाँच गरेका छन् । जापजाँच गर्दा पुल बन्ने दुई स्थानको लम्बाई झण्डै साढे ७ सय मिटर र जमिनदेखि पुल रहने सतको उचाई ७ सय मिटर भन्दा बढी देखिएको वडा अध्यक्ष घर्तीले जानकारी दिए ।

अहिलेसम्म नेपालमा ४ सय मिटर भन्दा बढी लम्बाई भएका झोलुङ्गे पुल निर्माणको लागि सरकारले अनुमती नदिएको प्राविधिकले बताएका छन् । तर अर्गलदेखि हिल जोड्ने गरि बनाउन अध्ययन थालिएको यो स्थानको लम्बाई त्यसको दोब्बर देखिएको छ । लम्बाई बढी भएकाले पुल बनाउन सरकारले अनुमती दिने/नदिने निष्चित छैन । विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि यसबारे अन्तिम निर्णय हुने छ ।

पुल बन्ने अवस्था आयो र बनाउन सकियो भने निकै महत्वको पुल हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘यहाँ पुल बनाउन सकियो भने पर्यटकीय स्थल घुम्टेलेक पुग्न छिटो र सजिलो हुन्छ’, अध्यक्ष घर्तीले भने, ‘पुल आफै पर्यटकीय आकर्षणको बस्तु बन्ने छ ।’
उनले हिलको काँक्राखोला, गुराँसे, श्यामखर्क, बराहखोला, हिलगाउँ लगायतका ठाउँबाट गाउँपालिकाको केन्द्र भातखाने डाँडा आउन जान सजिलो हुने बताए । यो स्थानमा पुल बने नेपालकै सवैभन्दा लामो र अग्लो आकासे पुल हुने वताईएको छ । झुलुङ्गेपुलको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो पटक अग्ला/लामा पुल बनाउने होड नै चलेको छ ।

प्रतिक्रिया दिनुहोस्