६ जेष्ठ २०८१, आईतवार

 

गाईघाट झरना अब यस्तो बन्दैछ, काम गर्न छुट्टै समिति, यो बर्ष १२ लाख छ बजेट

ताराखोला गाउँपालिकाले पर्यटकीय महत्वको गाईघाट झरनाको विकासका लागि सक्रियता लिएको छ । पहिलो गाउँसभाबाट झरना क्षेत्रको पर्यटन प्रवद्र्धनमा १२ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

झरना ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको विचमा पर्छ । अहिलेसम्म यसको विकास र प्रवद्र्धनमा गलकोट घुम्टे पर्यटन विकास केन्द्रले काम गर्दै आएको थियो । स्थानीय तह गठनपछि ताराखोला गाउँपालिकाको सिमा भित्र परेको झरना विकासमा गाउँपालिकाले अगुवाई गरेको हो ।

यो बर्षको बजेटबाट पुर्वाधार विकास र झरना व्यवस्थापन मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको काम गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

‘हामीले आर्थिक बर्षको सुरुवातदेखि नै बजेट कार्यान्वयनको क्रम सुरु गरिसकेका छौँ’, घर्तीले भने, ‘समयमै योजनाा सम्पन्न गरेर दिगो विकासको अवधारणा प्रयोगमा ल्याउने हाम्रो सोच हो ।’

वुधबार सरोकार भएका पक्षको सहभागीतामा गाउँपालिकाले गरेको भेला मार्फत झरनाका लागि काम गर्न छुट्टै समिति गठन गरिएको छ ।

सरकारी बजेटबाट आर्थिक बर्षको अन्तमा काम गर्ने परम्पराको अन्त्य गर्दै गाईघाट झरनासँग जोडिएर पर्यटन प्रवद्र्धनको काम गर्न समिति गठन गरिएको अध्यक्ष घर्तीले बताए ।

भेलाले पुर्णबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय गाईघाट झरना पर्यटन विकास समिति गठन गरेको छ । समिमितिको उपाध्यक्ष डिलकुमारी घर्ति, सचिव डम्बरबहादुर थापा, सहसचिवमा मन बहादुर लामिछाने र कोषाध्यक्ष पदमबहादुर खत्री छन् ।

ईन्द्र बहादुर लामिछाने, कृष्ण प्रसाद गैरे, सिता सापकोटा, दिल बहादुर घर्ति, भुमिकला नाउसा, लिलामाया बिक, कमला बिक र जितमाया सापकोटा सदस्य रहेका छन् ।

भेलामा गाउँपालिकामा क्रियाशिल राजनितिक पार्टीका अगुवाले आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

गाउँपालिकाले झरनादेखि दरमखोला तर्फको भागमा तटबन्ध गरेर वरिवरीको जमिनलाई चौडा र व्यवस्थित गर्ने, फुलबारी बनाउने, थप अर्को ताल बनाउने र पिकनिक स्थल व्यवस्थापन गर्ने योजना अघि सारेको छ । भरना क्षेत्रको धार्मिक महत्व प्रबद्र्धन गर्दै प्रचार–प्रसार गर्न व्यवस्थित मन्दिर बनाउने लक्ष्य छ ।

त्यहाँ पुग्ने पर्यटकलाई खाजा, खाना र आराम गर्ने सुविधाका लागि पसल तथा आराम स्थलको व्यवस्थापन गरिने अध्यक्ष घर्तीले बताएका छन् । विद्युतियकरण र माछापालनको समेत योजना बनाईएको छ । स्थानीय अगुवा तथा सरोकारवालाको समेत सुझावका आधारमा ठोस योजना बनाएर विकासको कामलाई अघि बढाईने नवगठित समितिका अध्यक्ष पुर्णबहादुर थापाले जानकारी दिए ।

झरनाको पुर्वाधार विकासदेखि प्रचार प्रसार र समग्र पर्यटन प्रबद्र्धनको काम यहि समितिले गर्ने थापाले बताए । ‘समितिले तत्काल काम सुरु गर्छ’, अध्यक्ष थापाले भने, ‘साउन २८ गते शनिबार नै हामीले झरना सम्बन्धि प्ररम्भिक योजना सार्वजनिक गर्छौं ।’

यसले गाउँपालिकाको आयस्रोत बढाउनुका साथै पर्यटन व्यवसायलाई समेत अगाडी बढाउने अपेक्षा गरिएको छ । कामको प्रगतीका आधारमा झरना विकासको योजनामा यसै बर्ष थप बजेटको समेत व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

‘पर्यटनको काम झरनाबाटै सुरु गरेका छौँ’, उनले अगाडी थपे, ‘समग्र गाउँपालिकाको पर्यटन गुरुयोजना बनाएर विकसलाई अघि बढाउने हाम्रो योजना हो ।’

गलकोट घुम्टे पर्यटन विकास केन्द्र मार्फत झरनाको पुर्वाधार विकास र प्रचार प्रसारमा महत्वपर्ण भुमिका खेलेका राजबहादुर थापाले गाउँपालिका मार्फत भएको पहल सकारात्मक रहेको बताए । केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहेका उनले झरना क्षेत्रको पर्यटन बिकासमा नवगठित समितिसँग सहकार्य गरेर अघि बढ्ने प्रक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्