२९ बैशाख २०८२, सोमबार

 

जब कक्षा ६ का विद्यार्थीले ब्याट्री बनाएर बाले… !


काठमाडौँ जिल्लाको राम्रा सामुदायिक विद्यालयमध्यको एक कीर्तिपुरको जनसेवा माध्यमिक विद्यालयले जापानको पानासोनिक कम्पनीसँगको सहकार्यमा कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई दूर शिक्षाको माध्यमबाट पठनपाठन शुरु गराउन थालेको छ । अब दूर शिक्षाका माध्यमबाट जापानी शिक्षकले टोकियोबाट विद्यार्थीलाई हरेक शुक्रवार सिधै कक्षा लिनेछन् ।

गत बुधवार जापानी शिक्षकले यही शैलीबाट लिएको कक्षामा सो विद्यालयमा अध्ययनरत ४६ जना विद्यार्थी सहभागी भए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जन, प्राचार्य नन्दकुमारी महर्जन, विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षकका साथै केही पत्रकार समेतको उपस्थितिमा उक्त कक्षा अगाडि बढाइयो ।

सधै कक्षामा शिक्षकसँग प्रत्यक्ष रुपमा पढेको अनुभव सगालेका यी विद्यार्थीलाई जापानी विद्यार्थीले नमस्कार भन्दै भिडियो कन्फरेन्सबाट कक्षा शुरु गरेपछि विद्यार्थी त्यसैमा समाहित भए । पढाइ कुनै सैद्धान्तिक विषयमा थिएन । उद्यमशीलतासँग जोडिएको विषय थियो । जापानमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले लोकप्रिय ब्रान्ड मानिएको सिको फाइभ घडी बनाउन सक्छन् भन्ने सुनिएको थियो ।
तर नेपालमा त्यस्तो कहाँ पाउनु ?

जापानी शिक्षकले विद्यार्थीलाई सिकाउन थाले, विद्यार्थीले पनि सोही अनुसार नै अगाडि बढे । झण्डै एक घण्टाको अवधिमा कक्षा ६ मा अध्ययनरत ती विद्यार्थीले पानोसोनिक बेट्री बनाए र बक्ति बालेर देखाए । सबैको बत्ती बलेपछि प्राचार्य महर्जनले बिजुली बत्तीको उज्यालो बन्द गर्न लगाइन र ब्याट्रीको उज्यालोबाट पूरै कोठा उज्यालो भयो ।

सबैले खुशीमा हात उठाए ।

विद्यार्थीको यो पहिलो प्रयोग थियो ।

खासगरी, विद्यार्थीको पठनपाठनलाई आगामी दिनमा उद्यमशीलतासँग जोड्ने हिसावले विद्यालयले पानासोनिक कम्पनीसँगको सहकार्यमा उक्त कार्यक्रम राखेको जानकारी प्राचार्य महर्जनले गराइन । आगामी दिनमा नेपालको सामाजिक सांस्कृतिक पक्ष, भेषभूषा, खानपान रहनसहन, जीवनशैलीलगायतका विषयमा जापानका विद्यार्थीसँग अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ । विद्यार्थीले आफूले जानेको कुरालाई धेरै समयसम्म आफ्ना विद्यालयका सहपाठीलाई सिकाउन सकुन भन्ने हिसावले कक्षा ६ र ७ का विद्यार्थीलाई मात्र उक्त कार्यक्रममा सहभागी गराइएको रहेछ ।

उद्यमशीलता बढाउने गरी विश्वप्रसिद्ध कम्पनीसितको सहकार्यमा नेपालका कुनै विद्यालयका विद्यार्थीले सिक्न पाएको बिरलै अबसर मध्ये एक हो ।

विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष तथा रेडियो नेपालका पत्रकार चन्द्र बानियाँ आगामी दिनमा यी सबै विद्यार्थीले प्राविधिक र विशेष गरी इन्जिनियरिङ विषयमा नै अध्ययन गर्ने सम्भावना बढ्ने विश्वास व्यक्त गर्छन् । “हामीले विद्यार्थीमा उद्यमशीलताको भावना जगाउने हो, जापानसँगको यस दूर शिक्षाको पठनपाठनबाट सकारात्मक प्रभाव नै पर्छ भन्ने विश्वास हामीले लिएका छौँ ।” उनले भने ।

सो विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सरकारले हालै मात्र उक्त विद्यालयलाई नमूना विद्यालयका रुपमा छनौँट समेत गरेको छ ।

साभार: सिकाइ अनलाईन

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung