माथेमा आयोगको प्रतिवेदनविपरीत चिकित्सा शिक्षा विधेयक तोडमोडसहित पारित गर्न लागिएको भन्दै डा. गोविन्द केसीले सोमबारबाट १२औं अनशन सुरु गर्ने भएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान ११ बजे पत्रकार सम्मेलन गरी अनशन सुरु गर्ने तय भएको केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिए। ‘माथेमा आयोगको प्रतिवेदनविपरीत तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक आज संसदबाट पारित गर्न खोजिँदैछ, सोही कारण उहाँ (डा. केसी)ले १२औं अनशन सुरु गर्दै हुनुहुन्छ,’ डा. सिंहले भने।
चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदनअनुसार नै पारित हुनुपर्ने डा. केसीको माग छ। माथेमा आयोगको प्रतिवेदनमा १० वर्षसम्म काठमाडौंमा कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायका विषय उल्लेख छन्। यसअघि ११औं अनशन डा. केसीले २३औं दिनमा साउन ३१ गते स्थगन गरेका थिए।
अविरल वर्षासँगै आएको बाढीपहिरोले देश विषम परिस्थितिमा रहेको भन्दै अनशन स्थगित गरेका डा. केसीले त्यतिबेलै आफ्नो माग पूरा नभए फेरि अनशन बस्ने चेतावनी दिएका थिए। नेपालीहरुको महान पर्व बडा दशैंपश्चात असोज २० गतेबाट अनशन थाल्ने तयारी गरेका डा. केसीले तोडमोड गरेर आजै चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै अनशन सुरु गर्ने तयारी गरेका हुन्।



















































































































































































































