एक पटक एक जना चित्रकार सम्राट नेपोलियन बोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर मैलो लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । उनलाई नजिक नबसाएर एकातिर अलि टाढै बस्ने आदेश दिए । उनीहरुबीच कुराकानी सुरु भयो । कुराकानी हँदै जाँदा नेपोलियनले उनी एक बढो कुशल चित्रकार हुन् भन्ने बुझे ।
किनकि छोटो कुराकानीबाटै उनी व्यक्तिको प्रतिभा र क्षमताको पहिचान गर्न सजिलै सक्थे । केही समयको कुराकानीपछि ती चित्रकार बिदा भएर जान लागे । त्यसपछि नेपोलियन आफ्नो आसनबाट ती चित्रकारलाई ढोकासम्म पु¥याउन आफैँ गए । नेपोलियनको यस प्रकारको आदर सत्कार देखेर चित्रकारलाई बडो आश्चर्य लाग्यो । मनको खुल्दुली मेटाउन उनले डराउँदै डराउँदै सम्राँट नेपोलियनसँग सोधे रिसानी माफ रहोस् सम्राट ।
मलाई एउटा कुराको बडो खुल्दुली भइरहेको छ । म यो खुल्दुली मेटेर मात्र हजुरसित बिदा हुन चाहन्छु । जतिखेर म भित्र आएको थिए , त्यतिखेर हजुरले मलाई आफ्नो नजिक बँस्नसमेत दिनुभएन । अब अहिले जाने बेलामा भने तपाइर्ले मलाई यहाँसम्म पु¥याउन आउनुभएको छ यसको कारण के हो ? जिज्ञासा सुनेर नेपोलियनले मुस्कुराउँदै भने , आउने बेलामा कुनै व्यक्तिलाई जुन आदर गरिन्छ , त्यो उसको पोसाक हेरेर गरिन्छ तर जाने वेलामा जुन आदर गरिन्छ , त्यो भने उसको गुण र प्रतिभा देखेर गरिन्छ ।













































































































































































































