गलकोट नगरपालिका–७ मल्म सिरवारे बाल विकासमा अध्ययन गर्ने विपन्न दलित बालबालिकाको लागि नयाँ विश्व डटकम अनलाईन पत्रिकाले थालेको सहयोग अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गर्दै आएका छन् ।
यसै सिलसिलामा बागलुङ नगरपालिका–२ घर भई अमेरिका बस्दै आएकी मञ्जु श्रेष्ठले उनीहरुको उज्वल भविष्यको लागि विदेशदेखि पठाएको नगद ५ हजार रुपैया उनकी आमा मिठु श्रेष्ठले नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई हस्तान्तरण गरेकी हुन् ।
बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बास्कोटाले आफ्ना साथी मञ्जु श्रेष्ठले मानविय हिसाबले समुदायमापछि परेका बालबालिकाको उज्जल भविष्यको लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । “बागलुङ महोत्सवमा नयाँ विश्व डटकमले सिरवारे बाल विकासको लागि थालेको सहयोग अभियानको समाचारले प्रभावित भएर साथी श्रेष्ठले उक्त बाल विकासको लागि सहयोग उपलब्ध गराउने कुरा भएको थियो” बास्कोटाले भनिन् ।
उक्त अवसरमा मिठु श्रेष्ठले समुदायबाट आएको सहयोगको सदुपयोग गर्न सके थप सहयोग आउने विचार व्यक्त गरिन् । त्यस्तै नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीले सहयोग उपलब्ध गराएकोमा श्रेष्ठ परिवारलाई धन्यवाद दिए ।






























































































































































































