३ जेष्ठ २०८१, बिहीबार

 

बाँझियो खेत

युवाले गाउँ छाडेपछि कृषि र विकास निर्माणका काममा जनशक्ति अभाव भएको छ । जनशक्ति अभावकै कारण बर्सेनि खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् ।

गाउँका युवा एकपछि अर्को गर्दै रोजगारीका लागि बिदेसिँदा खेतबारीमा काम गर्ने मान्छे पाइन छाडेको म्याङलुङ नगरपालिका–५ का दीपबहादुर बानियाँले बताए । काम गर्ने जनशक्ति नपाउँदा खेतीयोयग्य जमिन बाँझिएका छन् । ‘दुई वर्षअघिसम्म १ सय ५० रुपैयाँमा पाइने एक जना खेताला अहिले ५ सय दिन्छु भन्दा पनि पाइँदैन’, उनले भने ।

चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा पनि युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको लालीगुराँस नगरपालिका–९ का राजकुमार तेयुङको भनाइ छ । ‘गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने युवा कमै मात्र भेटिन्छन्’, उनले भने, ‘लास बोकेर घाटसम्म लैजाने बूढापाका मात्र भेटिन्छन् ।’

खेतीपातीको काममा युवाको ध्यान जान नसकेको स्थानीय बूढापाका बताउँछन् । खेतीपातीमा धेरै मेहिनेत गर्नुपर्ने र पछिल्लो पुस्तामा मिहिनेत गर्ने क्रम घटेको फेदाप गाउँपालिका सिम्लेका रमेश रिजालले बताए । ‘लेखपढ भएका युवा सहरतिर लागे, नपढेका ठिटा सबै विदेशतिर’, उनले भने ।

कामदार अभावले गर्दा जिल्लामा १ हजार ४ सय रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ । यसले गर्दा चिया उत्पादनमा समस्या भएको सिंहदेवी चिया उत्पादक सहकारी सोल्माका अध्यक्ष खेमबहादुर मगरले बताए । भने, ‘बगान छ, गाउँमा कामदार पाइँदैन, मुना टिप्ने बेला श्रमिक नपाएर बगान झाडी भइसकेको छ ।’

युवा जनशक्ति धमाधम बिदेसिन थालेपछि स्थानीयस्तरका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । भवन, सडक निर्माणलगायत अन्य पूर्वाधार विकासका काममा मजदुर अभाव छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा निर्माण भइरहेका सडकमा भारतीय र पश्चिमका युवा आएर काम गरिरहेका छन् । निर्माण क्षेत्रमा पनि कामदार अभाव रहेको निर्माण व्यवसायी राज तुम्बाहाङ्फेले बताए । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम गराउनुपरेको उनको भनाइ छ ।‘सदरमुकाम म्याङलुङमा मात्रै विहारबाट आएका ५ सयभन्दा बढी कामदार छन्’, उनले भने ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाको जनसंख्या १ लाख १ हजार ५ सय ७७ छ । रोजगारी खोज्दै विदेश जाने क्रम नरोकिए अबको पाँच वर्षभित्र गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताए । ‘स्थानीय सरकारले युवामुखी कार्यक्रम ल्याएर आफ्नै गाउँमा स्वरोजगार बनाउन आवश्यक छ’, उनले भने ।

जिल्लाबाट दैनिक तीन दर्जन युवाले राहदानी बनाउने गरेका छन् । राहदानी लिनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । उनका अनुसार आर्थिक २०७१÷७२ मा ८ सय ५७, २०७२÷७३ मा ९ सय ३१ र २०७३÷७४ मा १ हजार ९४ जनाले राहदानी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्