३ जेष्ठ २०८१, बिहीबार

 

खाडीमा ५ वर्ष बसेर फर्केका पाण्डेले दूध बेचेर गाउँमै कमाउँछन् मासिक ६० हजार

बागलुङको ढोरपाटन नगरपालिका वडा नं.२ अर्नाकका एक युवाले दुध बिक्री गरेर मासिक रुपमा ६० हजार बढिको आम्दानी गर्ने गरेका छन् ।  स्थानीय ३१ बर्षिय निमलाल पाण्डेले आफ्नै घरमा पालेका उन्नत जातका गाई र भैँसीबाट दिनमै ३० लिटरसम्म दूध बिक्री गर्ने गरेका हुन् ।

उनी करिब ५ बर्षसम्म रोजगारीका सिलसिलामा खाडि मुलुक बसेर फर्किएका युवा हुन् । विदेशमा रहँदा त्यहाँको दुखसँगै गाउँको सम्भावना समेत महसुस गरेका उनले अहिले आफ्नै घरमा चारवटा गाईभैंसी पालेका छन् । पाण्डेले होल्यान्ड जातका दुई गाई, मुर्रा क्रसिङ जातको १ भैँसी र लोकल जातको १ भैसी पालेर दूध बिक्री गरि आम्दानी गर्ने गरेका हुन् ।

आफूले विहानै दूध दुहेर बिक्रीका लागि दैनिक बुर्तिबाङ बजार झर्ने गरेको उनले बताए । ‘बिदेशमा अरुको काम गर्दा सोचेको पैसा कमाउन पनि नसकिने रहेछ,’ उनले भने, ‘अर्काको गुलामी गरेर हाम्रो प्रगति हुने देखिन । यो भन्दा त आफ्नै ठाउँमा काम गरे त्यहाँको भन्दा कम मेहतनमै बढी कमाउन सकिने लाग्यो । त्यसपछि यतै फर्किएर काम थालेको हुँ ।’ अहिले आफ्नो काम र कमाईबाट आफू सन्तुष्ट भएर परिवारसंगै दैनिकी विताउन पाएको उनको भनाई छ ।

पाँच पहिना अघिदेखि यो पेशा सुरु गरेका उनले अहिले दैनिक ३० लिटर दूध बिक्रीका लागि बुर्तिबाङमा रहेको डेरीमा ल्याउने गरेका छन् । सुरुमा ५ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका उनले छोटो समयमै राम्रो प्रगति गरेका हुन् । अहिलेसम्म व्यवसायमा गरेको लगानी उठिसकेको उनको भनाई छ । ‘पाँच छ महिनामै सुरुको लगानी उठ्ने अवस्था देखिएको छ, उनले नयाँविश्वसँग भने, ‘अहिलेसम्मको कमाईबाट म उत्साहित छु, आम्दानी बढाउन लगानी थपेर व्यवसाय विस्तार गर्ने सोचमा छु ।’

पाण्डेले थालेको पेशालाई उनकी आमा, श्रीमती र दुई छोरीले समेत साथ दिएका छन् । परिवारबाट पनि राम्रो साथ र प्रेरणा पाएकाले व्यवसाय अघि बढाउन आफुमा थप उत्साह मिलेको उनले बताए । परिवारका सदस्यले मात्र काम गर्दा नभ्याईएपछि उनले गाई बस्तुको स्याहारका लागि मासिक रुपमा तलव दिएर एक जना कामदार समेत राखेका छन् ।

उनले देशमै केहि गर्न खोज्ने युवाहरुलाई सरकारले सहयोग गर्ने पर्ने बताए । ‘कृषकका समस्या समाधान गर्न सरकारले उचित कार्यक्रम ल्याउन सके युवा विदेशिनु पर्ने बाध्यता हटेर जान्थ्यो,’ उनले भने ।

बुर्तिबाङ क्षेत्रमा पछिल्लो समय दूध उत्पादन गर्ने किसानको सक्रियता बढ्दै गएको देखिन्छ । ढोरपाटन नगरपालिकाको वडा नं.२ को रिनाम, सेरा, कुत्थाप्ला, सलामकोट, खल्बाङ, वडा नं ३ को पुर्काट, ४ को खुंगा छोरेगाँउ, ५ को नाथुरी लगायतका ठाउँबाट दैनिक बुर्तिबाङमा दूध आउने गरेको छ । बजारमा रहेका दूधडेरीले किसानले ल्याएको दुध खरिद गर्ने गरेका छन् । बुर्तिबाङ ३ वटा दूध डेरी छन् । कतिपय कृषकले भने उपभोक्ताको घरघरमै दूध लगेर बिक्री गर्ने गरेका छन् ।

पछिल्लो समय आसपासमा उत्पादन हुने दूध बुर्तिबा बजारमा मात्र खपत हुन नसकेको भन्दै स्थानीय सरकारले दूध बाहिर पठाउने व्यवस्था मिलाउनुपर्ने बताउन थालेका छन् । उनीहरुले दूध भण्डार केन्द्र पनि आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्