३ जेष्ठ २०८१, बिहीबार

 

सिगाना महोत्सवमा पाहुनालाई सुन्तला उपहार

बागलुङ । बागलुङ ८ सिगानामा शुरु भएको सुन्तला महोत्सवमा जाने दर्शक तथा अतिथिलाई निशुल्क सुन्तला वितरण गरिएको छ । आयोजकले हरेक व्यक्तिलाई झण्डै डेढ केजीका दरले निशुल्क सुन्तला वितरण गरेको हो ।

महोत्सव अवधीभर ५० हजारको सुन्तला निशुल्क वितरण गर्ने आयोजकले जनाएको छ । सिगानाको सुन्तला खेतीको प्रर्वद्धनको लागि तीन बर्षदेखि महोत्सवको आयोजना हुदैँ आएको छ ।

गणेश कृषि सहकारीमार्फत एकबद्ध भएका किसानले यो बर्षदेखी सुन्तला उत्सव पनि सहकारी कै आयोजनामा संचालन गरेका हुन् । महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, सुन्तला तथा विभिन्न कृषि औजारहरु प्रर्दशनीमा राखिएको छ ।

सुन्तला जोनको रुपमा विकास भैरहेको सिगानामा यस बर्ष ३० हजार सुन्तलाका नयाँ बिरुवा लगाउने योजना रहेको स्थानीय कृषक अनन्त खड्काले बताए । ‘बाहिरबाट बिरुवा खरिद गरेर ल्याउँदा महंगो पर्ने भएकाले यसपाली आँफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं’ खड्काले भने ।

पहिलो बर्षको उत्सवका कारण सुन्तलाको बजारीकरणमा आएको सुधारका कारण सुन्तला उत्सवलाई निरन्तरता दिईएको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष जितबहादुर क्षेत्री राजनले बताए ।

सिगानामा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुने ७० वटा बगैंचा छन् । व्यवसायिक सुन्तला उत्पादन गर्ने सबै कृषक सहभागी भएर सहकारी सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष राम बहादुर खत्रीले बताए ।

‘चार हजार हेक्टरमा लगाईएको सुन्तलाका बिरुवा पुराना भए, अब नयाँ बिरुवाको उत्पादन गर्ने सोचमा छौं’ खत्रीले भने ‘नयाँ क्षेत्र बिस्तार र पुराना बिरुवाको प्रतिस्थापनको लागि तयारी थालेका छौं ।’ सिगानाबाट मात्रै गत बर्ष ८० लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको सहकारीले जनाएको छ ।

‘यस बर्ष असिना पानीका कारण सोचे जस्तो उत्पादन भएको छैन स्थानीय कृषक टोप बहादुर खड्काले भने ‘सुन्तलाको बजारीकरणमा भने हामीलाई समस्या छैन् ।’ सिगानाको सुन्तला रसिलो र मिठो भएकाले स्थानीय बजारमा समेत यसको माग उच्च रहेको खड्काले बताए । गत वर्षको तुलनामा सुन्तला कम भएपनि आधा करोड बराबरको सुन्तला निर्यात हुने सहकारीले जनाएको छ ।

महोत्सव अवधीभर झण्डै ७ लाखको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सव यही पुष ६ देखि शुरु भएको महोत्सव आज सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्