६ जेष्ठ २०८१, आईतवार

 

कलिङ भिसा भएकालाई मलेसिया जान अन्तिम स्वीकृति दिन सुरु

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आइसकेकालाई मलेसिया जानका लागि अन्तिम स्वीकृति दिन सुरु गरेको छ । सरकारले माघ ४ गतेदेखि अन्तिम स्वीकृति दिन थालेको हो ।  तर कलिङ भिसा आएका व्यक्तिहरुले पनि अन्तिम स्वीकृतिका लागि नेपालस्थित मलेसियन दूतावासबाट सोझै भिसा प्राप्तिको प्रक्रिया अवलम्बन गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले माघ २ गते श्रम कार्यालय ताहाचाललाई पत्र लेख्दै मलेसियाको ओटा टनेल स्क्वाड कम्पनीमा काम गर्नका लागि नेपाली कामदार पठाउन मलेसियास्थित कम्पनीबाट पत्र आएको र दूतावासले सोझै प्रक्रिया सुरु गरेको भन्दै अन्तिम श्रम स्वीकृति दिन सुरु गरेको हो ।

यसअघि श्रम मन्त्रालयले नेपालस्थित मलेसियन दूतावासलाई कलिङ भिसा आएकालाई दूतावास आफैंले प्रक्रिया सुरु गरी जान दिन आग्रह गरेको थियो । तर दूतावासले भने जनशक्तिको अभाव देखाउँदै आफैंले प्रक्रिया सुरु गर्न नसक्ने बताएको थियो ।  तर माघ ४ गते दूतावास आफैंले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै कलिङ भिसा आएका २३ जनालाई अन्तिम स्वीकृति दिन आग्रहसहितको पत्र पठायो ।

नेपालस्थित मलेसियन दूतावासले १८ जनवरीमा वैदेशिक रोजगार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मलेसियाको ओटा टनेल स्क्वाड कम्पनीमा काम गर्नका लागि अन्तिम स्वीकृति दिन २३ जना नेपाली कामदारको सूची नै पठायो । कम्पनीमा काम गरी फर्किएकालाई दोस्रो पटकको श्रम स्वीकृति प्रदान गर्न रोजगारदाता कम्पनी र दूतावासले आग्रह गरेपछि श्रम विभागले अन्तिम स्वीकृति दिएको हो । भिक्की विकसहितको २३ जनाको टोलीलाई विभागले अन्तिम स्वीकृति दिएसँगै कलिङ भिसा पाइसकेकाहरुले मलेसिया जान पाउने बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईँका अनुसार दूतावासबाट सोझै भिसाको प्रक्रिया भई सूचीसहितको पत्र प्राप्त भएकालाई अन्तिम स्वीकृति दिइएको हो । यसअघि मलेसियास्थित कम्पनीले विभागलाई पत्र लेख्दै कलिङ भिसा भएकाहरुलाई मलेसिया आउने बाटो खोलिदिन आग्रह गरेको थियो ।

त्यही आग्रहको पत्रसहित विभागले मन्त्रालयलाई पत्र लेख्दै के गर्ने भनी सोधेको थियो । श्रम मन्त्रालयले माघ २ गते विभागलाई पत्र लेख्दै दूतावासबाटै भिसाको सबै प्रक्रिया भएमा अन्तिम स्वीकृति दिने भन्ने व्यहोराको निर्णय भएको थियो । मन्त्रालयबाट स्वीकृति पाएपछि विभागले अन्तिम स्वीकृति जारी गर्न श्रम कार्यालयलाई परिपत्र गरेको थियो ।

हेर्नुहोस् विभागले श्रम कार्यालय ताहाचाललाई लेखेको पत्र 

विभागका महानिर्देशक दिलिप चापागाईँका अनुसार अब दूतावासले आफै भिसाको सबै प्रक्रिया सुरु गरी औपचारिक पत्र पठाएमा उनीहरुलाई अन्तिम स्वीकृति प्रदान गरिनेछ । पत्रमा व्यक्तिको नाम, पासपोर्ट नम्बर र काम गर्न जाने कम्पनीको नाम तथा ठेगाना अनिवार्य रुपमा उल्लेख हुनुपर्ने विभागले बताएको छ ।

गएको जेठ २ गतेदेखि बन्द भएको मलेसिया रोजगारी बल्ल खुलेको हो । गएको कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच कामदारको आपूर्तिसम्बन्धि सहमति भएपछि कामदार पठाउने बाटो खुलेको थियो । उक्त सहमतिमा कलिङ भिसा आइसकेकालाई तत्काल पठाउने भनिएपनि नेपालस्थित दूतावासले जनशक्तिको अभाव देखाउँदै काम गर्न मानेको थिएन । तर पछिल्लोपटक दूतावास आफैंले विभागलाई पत्र लेख्दै कलिङ भिसा आएकालाई पठाउन थालेको हो ।

कलिङ भिसा आएकाको सूची बनाउँदै

विभागले आजैबाट मलेसियाको लागि कलिङ भिसा भएकाहरुको लगत राख्ने भएको छ । विभागका महानिर्देशक चापागाईँका अनुसार मन्त्रालयले आजै सार्वजनिक सूचना जारी गर्दै कलिङ भिसा भएकाहरुको नाम, ठेगाना, पासपोर्ट नम्बर र मोबाइल नम्बरसहितको लगत राख्न लागेको हो ।

कलिङ भिसा भएकालाई अन्तिम स्वीकृति दिन सुरु गरेसँगै अब मलेसिया रोजगारी खोलिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्