काठमाडौँ– भाषासेवी मोहनराजको शर्माको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
शर्माको उपचारका क्रममा बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो ।
७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । दमबाट थलिएका शर्मा विगत १० दिनयता अस्पताल भर्ना भएका थिए । उनी प्रेसर र सुगरबाट समेत पीडित थिए ।
नेपाली साहित्य क्षेत्रमा प्रयोगवादी धारामा कलम चलाउने शर्माको पहिलो रचना २०१६ सालमा ‘बिलू निबन्ध’ प्रकाशित भएको थियो ।
उनको नेपाली भाषाको व्याकरण ‘शब्दरचना र वर्णविन्यास’ प्रकाशित छ । त्यस्तै शर्माका ‘शैलीविज्ञान’, ‘समकालीन समालोचना सिद्धान्त र प्रयोग’ (समालोचना) प्रकाशित छन् ।
शर्माका च्याँखा धर्मा, कोर्रा, महाशुन्य, बैखरी कथासङ्ग्रह प्रकाशित छन् भने ‘जेमन्त’, ‘यमा’, ‘बैकुण्ठ एक्स्प्रेस’ उपन्यास प्रकाशित छन् ।
उनले ‘वैकुष्ठ एक्सप्रेस’का लागि २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
शर्माका छोरा अस्ट्रेलियाबाट आउन समय लाग्ने भएकाले उनको अन्त्येष्टि शनिबार मात्रै गरिने परिवारले जनाएको छ ।