बागलुङ । गत विहिबार मालढुंगामा भएको बस दुर्घटनामा सात जनाको ज्यान गयो भने ३६ जना घाइते भए । दुर्घटनामा घाइते हुनेहरुको सही समयमा उपचार नहुदाँ धेरैको ज्यान जाने गरे पनि मालढुंगाको केसमा भने त्यो हुन पाएन । समयमा नै घाइतेको उपचार पाएका कारण धेरैको ज्यान जानबाट भने जोगियो ।
कुस्मा नगरपालिका १ मालढुंगामा बस दुर्घटनामा घाइते भएकाहरुलाई २० मिनेट भित्रै उद्दार गरेर अस्पताल पु¥याइएको थियो । दुर्घटना भएको पाँच मिनेटमा पुगेको प्रहरी र उद्दार टोलीले घटनास्थलबाट ५ किलोमिटर टाढा रहेको बागलुङ्ग अस्पतालमा घाइतेहरुलाई पु¥याएका थिए ।

अस्पताल पु¥याइएका ३६ जना घाइते मध्ये ७ जनाको अवस्था गम्भीर थियो । दुई जनाको बाटोमा नै मृत्यु भइसकेको थियो भने दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो निमित्त मेडिकल सुपरिटेण्डेन डा शैलेन्द्र वि पोखरेलले भने ।
‘समयमा नै अस्पताल आई नपुगेको भए ७ जना बिरामीको केही बेरमा नै ज्यान जान सक्ने अवस्था थियो’ डा पोखरेलले भने ‘उद्दार गरी अस्पतालमा आई पुगेका मृत्युको मुखमा पुगेका बिरामीको जीवन बचाउन संभव भयो’ धेरै घाइतेहरुको स्वासप्रश्वास ७० भन्दा कम, छाती र टाउकोमा गम्भीर चोट रहेका कारण श्वास प्रस्वास रोकिने अवस्थामा अस्पततालमा पुगेको उनले बताए ।
दुर्घटनाको खबर पाउने बित्तिकै अस्पतालमा मेडिकल टिम तयारी अवस्थामा थियो । डाक्टरको अभाव नहोस् भनी हामीले नेपाली सेनाको स्वास्थ्यकर्मीको टिम,पर्वत र बेनीका डाक्टरहरुलाई पनि खबर गरेका थियौं । मेरो नेतृत्वमा १४ जना डाक्टरको टिम तैनाथ थियो डा पोखरेलले भने ।

अधिकांश सवारी दुर्घटनाका घाइतेहरुको श्वासप्रश्वासमा समस्या हुने गर्दछ । उनीहरुलाई इन्टुवेसन, व्यागिङ्ग गर्दा तत्कालै ज्यान जानबाट बचाउन सकिने उनले बताए । ‘पहिले घाईतेको श्वासप्रश्वासमा रहेको समस्याको निदान गरिन्छ र रोकिएको स्वासप्रश्वास खुलाउने काम हुन्छ’ उनले भने ‘अन्य घाउ चोटको पछि उपचार हुन्छ ।’
बागलुङ्ग अस्पतालमा बिहीबार उपचारका लागि ल्याएका गम्भीर घाइतेहरुको पनि तत्काल श्वासप्रश्वासको अवरोध हटाउन सक्दा ज्यान बचाउन सकिएको उनको भनाई छ ।

घाइतेलाई छिटो अस्पताल ल्याउनको लागि प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल ,सबै सुरक्षा निकाय र जनप्रतिनिधिहरुको सहयोग र समन्वयमा पर्वत, बागलुङ प्रशासन, प्रहरी लगायतको उद्दार टोली तैनाथ गरिएको थियो । गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत काठमाडौं, पोखरा पु¥याएको थियो । घाइतेहरुको विशेष गरी टाउकोमा गम्भीर चोट लागेको डाक्टरहरुले बताएका थिए ।














































































































































































































