काठमाडौं – बंगालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी ‘फानी’ आज (शुक्रबार) भारतको ओडीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रीदैंछ। ‘फानी’ को प्रभाव आज (शुक्रबार) नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार फानीको प्रभावका कारण आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भइ पुर्वी र मध्य क्षेत्रका स्थानहरुमा हावाहुरी, चट्याङसहित हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षा हुनसक्ने संभावना छ।
महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । यस्तै फानीको प्रभावले अहिले रुपन्देही, कपिलवस्तुलगायत सिमावर्ती क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ ।
साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानमा वर्षाको संभावना रहेको बताइएको छ।
त्यस्तै चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्को सुझाव छ।
फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने हुँदा आइतबार देखि देशभर मौसममा क्रमिक सुधार आउने संभावना छ।























































































































































































