काठमाडौं – गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले पुर्वी हिमाली क्षेत्रमा आजदेखि भोलि (शनिबार) दिनभरसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ।
पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ । https://t.co/9K04r5l0gE
— NEOC, MoHA Nepal (@NEOCOfficial) May 3, 2019
बंगालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी ‘फानी’ अहिले ( शुक्रबार) मध्यान्न भारतको ओडीसाको तटीय क्षेत्रमा प्रहार गरिरहेको छ।
हाल त्यहाँ १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा चलिरहेको र फानीले विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गरिएको छ। नेपालको जल तथा मौसम विज्ञान विभागले ‘फानी’को गम्भीर असर नेपालमा नपर्ने भए पनि त्यसको प्रभावका कारण आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भइ पुर्वी र मध्य क्षेत्रका स्थानहरुमा हावाहुरी, चट्याङसहित भारी वर्षाको संभावना रहेको जनाएको छ।
त्यस्तै हिमाली भेकका जिल्लामा हिमपात हुनसक्ने मौसम विभागले जनाएको छ। साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानमा वर्षाको संभावना रहेको बताइएको छ।
आइतबारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ।























































































































































































