गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो । दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा (वैज्ञानिक नाम अन्सिया अन्सिया)को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो ।
गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा. कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका (तत्कालीन लामाबगर गाविस)मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो ।
सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख उपप्राध्यापक डा. कोजुले बताए । यो तस्वीर रेकर्डले लप्ची उपत्यकामा हिउँ चितुवा रहेको कुरा आधिकारिकरूपमा पुष्टि गरेको डा. कोजु दाबी गर्छन् ।
लप्ची उपत्यका चीनको तिब्बत र नेपालको पूर्वपश्चिम जाने राम्रो ट्रान्जिट प्वाइन्ट भएकाले पनि यो क्षेत्रमा हिउँ चितुवाको उपस्थिति राम्रो रहने अनुमान गर्न सकिने डा. कोजुले बताउनुभयो।
अनुसन्धानका क्रममा डा. कोजुको टिमले लप्ची उपत्यकाको उच्च भेगमा समेत गरी १३ वटा क्यामेरा जडान गरेको थियो। २०७५ असोजदेखि २०७६ वैशाखसम्म क्यामेराले रेकर्ड गरेको तस्वीर तथा श्रव्य–दृश्यमार्फत हिउँ चितुवालगायत अन्य दुर्लभ जीवजन्तुका बारेमा समेत जानकारी प्राप्त भएको संरक्षण क्षेत्रले जनाएको छ।
(आजको नेपाल समाचारपत्रबाट)























































































































































































