नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन ।
“मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ ।
तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’’ यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो ।
चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । नगरकोटी भन्छन्, “दक्षिण भारत आइपुगेको मनसुन त्यही रहेकोछ ।” अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो ।
काठमाडौमा गत वर्षभन्दा बढि
प्रिमनसुन लागे यता जुन १४ अर्थात् जेठ ३१ गते शुक्रबार काठमाडौँमा अत्यधिक गर्मी महसुस गरियो । मुख्यतः मे महिनालाई नेपाल र भारत लगायतका देशमा बढी गर्ने हुने महिनाका रूपमा चिनिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्षको मे महिनाको ३२.५ डिग्री तापक्रमको आफ्नै रेकर्ड तोड्दै शुक्रबार काठमाडौँको तापक्रम माथि उक्लिएको हो । शुक्रबार ३३.५ डिग्री सेन्टिग्रेड तापक्र रेकर्ड भयो । गतवर्ष सन् २०१८ को मे महिनामा सैभन्दा बढी ३१.५ डिग्री तापक्रम रेकर्ड भएको थियो । सन २०१७ को मे महिनामा काठमाडौंमा ३१.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेको थियो ।
तातिँदै मुख्य शहर
यसवर्षको मे महिनामा अर्थात् वैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो । तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो । यस्तै मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो ।
मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम छ । गतवर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ । वैशाख २९ गते पोखरामा ३२.७ डिग्री तापक्रम थियो ।
अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो । तर अहिले बढेर ३८.०डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ ।
( आजको गोरखापत्र दैनिकबाट)























































































































































































