१५ कार्तिक २०८३, शनिबार

 

पर्यटक डाक्दै नरसिंहकोट

केही वर्षअघिसम्म वनमारा र ऐंसेलुको काँडाले घेरिएको निसीखोलाको नरसिंहकोट अहिले पर्यटकीय गन्तव्य बन्न थालेको छ । निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने नरसिंहकोट पश्चिम क्षेत्रको पर्यटकीय स्थलका रूपमा परिचित छ । यसअघि संरक्षण र प्रचारप्रसार अभावमा ओझेल परेको थियो ।

गुरुयोजना निर्माण

भुरे राजाहरूका पालादेखि नै रहेको नरसिंहकोट मन्दिर अहिले पुनर्निर्माण गरिएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरुयोजनासमेत तयार पारेको छ । पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा कसैले चासो नदिँदा ओझेल परेको स्थानीयको गुनासो छ ।

संघीयतासँगै स्थानीय सरकारले संरक्षण र प्रवर्धनका लागि काम अघि बढाएपछि यहाँको महत्व थपिँदै गएको दिलेन्द्रबहादुर रामजालीले बताए । वरिपरि खोलानाला र गहिरो भाग, बीचमा पहाडको चुचुरो, बुर्तिबाङ बजारदेखि झन्डै डेढ घण्टाको पैदल यात्रापछि पुगिने उक्त क्षेत्र निकै रमणीय छ ।

चार हजार पर्वतको कोटका रूपमा परिचित रहेको यस क्षेत्रको विकासनिम्ति गाउँपालिकाले पुराना मन्दिर पुनर्निर्माण र मर्मतसम्भार गरेको छ । साथै विभिन्न पूर्वाधार निर्माणमा लगानी गरेको छ ।

पूर्वाधारमा ७६ लाख

यहाँको पूर्वाधार विकासका निम्ति गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ र चालू वर्ष २५ लाख रूपैयाँ विनियोजन गरिएकोे गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । दुई वर्ष पहिले सांसद ज्ञानकुमारी छन्त्यालको क्षेत्र विकास कोषबाट १६ हजार रुपैयाँ विनियोजन गरी मन्दिर मर्मत र पदमार्गको काम गरिएको थियो ।

एकै ठाउँ पाँच मन्दिर

यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न एकै ठाउँ छुट्टाछुट्टै देवीदेवताका पाँच मन्दिर निर्माण गरिएका छन् । जसमा नरसिंहकोट, कालिका, नन्देली, भीमसेन र जयन्ती मन्दिर छन् । वनभोजस्थल, शौचालय, अतिथिगृह, भ्यु प्वाइन्ट र पैदल मार्गलगायत संरचना पनि बनाइएका छन् ।

विशेष गरी दसैं, वैशाख पूर्णिमा र मंसिर पूर्णिमामा यस क्षेत्रमा मेला लाग्छ । दर्शनका लागि विभिन्न क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । ‘दसैंका बेला नौ दिनसम्म मन्दिरमा नै आई उपवास बस्ने चलन छ’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘यस मन्दिरमा पञ्चबलि चढाउने चलन छ, यस क्षेत्रलाई बडीगाड, तमानखोला, ढोरपाटनका साथै प्युठानको अर्खा क्षेत्रका बासिन्दाले पनि कोटका रूपमा मान्दै आएका छन् ।’ करिब ६७ रोपनीमा फैलिएको यस क्षेत्रको जग्गा नरसिंहकोट मन्दिरको नाममा छ ।

एकसाथ आधा दर्जन हिमाल

यहाँबाट बुर्तिबाङ बजार, गुल्मीको नेटा, पाल्पाको बतासे डाँडा, म्याग्दीको सोले, गुर्जा, प्युठानको पन्चासे क्षेत्र र रुकुमका विभिन्न भेगको दृश्यावलोकन गर्न सकिन्छ ।

मन्दिरवरिपरि जंगल र केही तल ठूलो पोखरी छ । समुद्री सतहदेखि झन्डै पाँच हजार फिट उचाइमा रहेको यस क्षेत्रबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छेलगायत आधा दर्जन हिमाल देख्न सकिन्छ । यहाँको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट आवश्यक बजेट छुट्ट्याएर पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले बताए ।

आन्तरिक पर्यटन बढ्दो

पर्यटक बसाउन नजिकै गाउँमा होमस्टे (घरवास) सञ्चालनको तयारी थालिएको छ । ‘यस क्षेत्रमा संरचना निर्माणको थालनीसँगै अहिले आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । हाल शनिबार र बिदाको समय पारेर पर्यटक घुम्न आउँछन्,’ कुँवरले भने ।

बुर्तिबाङ बजारबाट केबलकारको सम्भावना अध्ययनसमेत गरिएको छ । पर्यटकले यो क्षेत्र निकै मनमोहक रहेकाले प्रचारप्रसार र सुविधासम्पन्न बनाउन सुझाव दिएको वडाध्यक्ष कुँवरले बताए ।

मध्यपहाडी लोकमार्गछेउमै पर्ने नरसिंहकोट देवीस्थान हुँदै र भीमगिठे हुँदै गुल्मी खण्डबाट पनि सडक सञ्जालले जोडिएको छ । अहिलेसम्म निर्माण गरिएका विभिन्न संरचनाले त्यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउँछ । सदरमुकाम बागलुङ बजारदेखि पश्चिमतर्फ झन्डै १ सय १५ किलोमिटर केही कच्ची र पक्की सडककोे यात्रापछि नरसिंहकोट पुग्न सकिन्छ ।

धार्मिक गन्तव्यका रूपमा परिचित बनाउन प्रदेश र संघीय सरकारलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung