निसीखोला गाउँपालिका ७ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । राजकूटमा आयोजित सुनुवाइमा वडाले आर्थिक वर्ष २०७५÷७६ मा गरेका नीति तथा कार्यक्रम सम्पादन र सेवा प्रवाहबारे छलफल भयो ।
वडापालिकाको आयोजना र सामुदायिक रेडियो ढोरपाटनको सहजीकरणमा भएको कार्यक्रममा सहभागीले वडामा भइरहेका प्रभावकारी कामका लागि जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै थप शैक्षिक विकास, सडक स्तरीकरण, महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउनुपर्ने, करको दायरा बढी भएका कारण गाउँपालिकामा संशोधन माग गनुपर्ने, वडामा हुने देवानी प्रकृतिका घटनालाई न्यायिक समिति र मेलमिलापकर्ताले वडातहमै मिलाउने व्यवस्था हुनुपर्ने सुझाए ।
त्यस्तै ज्येष्ठ नागरिकलाई भत्ता वितरण प्रक्रियामा बैंक कर्मचारी आफ्नै खर्चमा गाउँ पु¥याएर सहयोग गरेको भन्दै वडाध्यक्षको तारिफसमेत गरेका थिए । पर्यटकीय स्थल नर्सिङकोटको प्रचारप्रसार र व्यवस्थापनका निम्ति थप पहल गर्न आवश्यक रहेको भन्दै वडा सदस्यहरूले सानातिना विकास–निर्माण, जनश्रमदानजस्ता कार्यमा जनतासँग समन्वय गर्दै अघि बढ्नुपर्ने स्थानीयको सुझाब थियो ।
सहभागीले वडामा विनियोजित योजनामा अनुगमन समितिले समय–समयमा अनुगमन गर्नुपर्ने र प्राविधिक मूल्यांकनमा समेत कहीँकतै प्रभावकारी नदेखिएका कारण सही मूल्यांकन हुन आवश्यक रहेकोमा जोड दिए ।
स्थानीयले उठाएका सुझाब, सल्लाह र गुनासोका विषयमा वडाध्यक्ष नहकुल कुँवरले आफू जनताको सेवा र विकासका निम्ति हरदम तत्पर रहेको जनाउँदै गाउँपालिकाबाट विनियोजन हुने बजेट सबैसँग छलफल र सुझाबअनुसार पेस गर्ने बताए । विकास–निर्माणमा अपारदर्शी र जनताको गुनासो आउने गरी काम नगर्ने प्रतिबद्धता जनाए । न्यायिक समिति सदस्य एवं वडा सदस्य रूपेश श्रेष्ठले समेत वडा सदस्यसँग जोडिएका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा सहभागीमध्ये प्रताप कुँवर, गणेशबहादुर कुँवर, रेशम पुन, प्रेमबहादुर कुँवर, दीपक कुँवर (दिपु), डेमलाल श्रेष्ठ, खुमान थापामगर, रामबहादुर कुँवर, राजेन्द्र श्रेष्ठ, चूडाबहादुर राना, लालवीर लोप्चन, खिमबहादुर मल्ल, चन्द्र कुँवर पाण्डेलगायतले धारणा राखेका थिए ।
वडाध्यक्ष कुँवरको अध्यक्षता र छविलाल पाण्डेको सञ्चालन रहेको कार्यक्रममा वडा सदस्य टीकाकुमारी कुँवर, लालबहादुर कुँवर, अमृता परियार, राजनीतिक दलका स्थानीय प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, क्लब पदाधिकारीलगायतको सहभागिता थियो ।



















































































































































































































