
जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक वन उपभोक्ता समूह बानपा ५, ६, ७ को अध्यक्षमा पुनः टेकबहादुर केसी बद्री निर्वाचित भएका छन् । वनको १२औं साधारणसभा तथा छैटौं अधिवेशनबाट मंगलबार केसीको नेतृत्वमा आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको सचिवमा अनिता सापकोटा, कोषाध्यक्षमा विपिन विश्वकर्मा, सहसचिवमा हिमाल गौतम छन् ।
साधारणसभामा वनका संस्थापक अध्यक्ष तथा बानपा–५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले वैज्ञानिक वन व्यवस्थापन गर्दा सामुदायिक वनले सावधानी अपनाउनुपर्ने र जिम्मेवार तबरबाट कार्ययोजनाअनुरूप कार्य गर्नुपर्ने बताए । वैज्ञानिक वनको अवधारणा राज्यको नीति र कार्यक्रमअनुसार लागू भएको हुँदा त्यसलाई अन्यथा लिन नहुने र वैज्ञानिक वनका नाममा कहीँकतै दुरुपयोग भएको पाइएकाले सचेत भई कार्य गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै वन समूहका संस्थापक सचिव तथा बानपा–६ का वडा अध्यक्ष खिमराज सापकोटाले सामुदायिक वनले अब पर्यटनलाई प्रवर्धन गर्ने गरी काम गर्नुपर्ने बताए । जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक वन आफैंमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने उनको भनाइ थियो । प्रदेशको आँखामा पनि जैविक वन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरी काम गर्न सके समग्र बागलुङको विकासमा सहयोग पुग्ने उनले बताए ।
समूहका अध्यक्ष केसीले समूहको वार्षिक प्रगति–प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पदमबहादुर केसीले आर्थिक वर्ष ०७५/०७६ को ९ लाख २९ हजार ३४ रुपैयाँबराबरको आयव्यय विवरण पेस गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सदस्य कुलबहादुर कार्की, वनका पूर्व सदस्य पदम गौतमलगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै अधिवेशनबाट गौतमको संयोजकत्वमा अनुगमन समिति तथा गोरे किसानको संयोजकत्वमा लेखा समिति समेत गठन गरिएको छ । अनुगमन समितिको सदस्यमा कृष्णप्रसाद सापकोटा र जमुना खड्का छन् भने लेखा समितिको सदस्यमा माधव सापकोटा छन् ।
कार्यक्रम समूह अध्यक्ष बद्रीको अध्यक्षता, सदस्य कोपिला खरेलको स्वागत तथा वैकुण्ठ न्युरेको सञ्चालनमा सम्पन्न भएको थियो ।