दश वर्षे माओवादी जनयुद्ध लडेका लडाकु विजयी कुँवरको मंगलबार बिहान अर्घाखाँचीमा मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ मरेङ्ग गाउँमा बस्ने ३६ वर्षीय कुँवरको बाँदर आतंक निस्तेज क्रममा मृत्यु भएकाे हाे ।
स्थानीयवासीन्दाका अनुसार बाँदर लखेट्ने क्रममा चिप्लिँदा भिरबाट लडेर कुँवरको मृत्यु भएको हाे । जनयुद्धमा लाग्दा अन्तरजातीय विवाह समेत गरेका कुवँरको वैवाहिक सम्बन्ध समेत दिगाे हुन सकेन । श्रीमतीले केहि वर्षअघि आत्महत्या गरेकी थिइन्। श्रीमतीले आत्महत्या गरेपछि विक्षिप्त हुँदै बाबुआमासँग बस्न घर फर्किएका उनी परिवारमा एकमात्र छोरा थिए ।
घरको आर्थिक अवस्था नाजुक भएपछि गाउँवासीले चन्दा उठाएर गाडीमा कुँवरको शव पोष्टमार्टमका लागि गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला अस्पतालमा पुर्याइएकाे छ । परिवर्तनका लागि जनयुद्ध लडेका कुँवरको अहिले किरिया खर्च चलाउने उपाय समेत नभएकोले गुल्मीका स्थानियवासीले सहयोग गर्नु परेकाे एक स्थानीय बासिन्दाले बताए ।



















































































































































































































