२ कार्तिक २०८३, आईतवार

 

मौसम विभागले निकाल्यो तीन दिनको सूचना, सतर्क रहन आग्रह

मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा रहेकाले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद् मञ्जु वासीले बताइन् । उक्त ट्रफ नजिक परेको बेला वर्षा निरन्तर भइरहन्छ । तर यस वर्ष नेपालमा सो मनसुनी ट्रफ जुलाई १३ मा एकपटक मात्र नजिक आइपुगेको थियो ।

त्यसको प्रभावले काठमाडौँ उपत्यकामा यस वर्ष मनसुन सुरु भएपछि सबैभन्दा धेरै वर्षा जुलाई १३ अर्थात् असार २८ मा १०४ मिलिलिटर भएको थियो । यो मनसुन सुरु भएपछिको सबैभन्दा बढी वर्षा हो । ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको मौसमविद्को भनाइ छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशको पूर्वी तथा मध्यपहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

राति देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung