बुधबार विहानदेखि देशभर सामान्यदेखि पूर्ण बदलि भई केही स्थानहरुमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ। बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जनचट्टयाङ्गसहित मध्यम वर्षा हुनेछ। थोरै स्थानहरुमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
आज राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले वर्षाका कारण पहाडी भु-भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानीको वहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।























































































































































































