फाइल तस्बिर
राजधानी बाहिर जाने यात्रुका लागि दशैं र तिहारका लागि अग्रिम टिकट बुकिङ खुलाउने बिषयमा सरकार र व्यवसायीबीच सहमती जुट्न सकेकाे छैन् । यातायात व्यवस्था विभाग यातायात व्यवसायी समितिबीच छलफल भएपनि सहमती जुट्न नसक्दा थप अन्योल बनेको हो । अग्रिम टिकट खुलाउने विषयमा छलफलका लागि बुधबार बसेपनि ठाेस् निर्णय हुन सकेन ।
यातायात व्यवसायीहरूले विभिन्न माग राखेकाेले टिकट बुकिङ गर्ने मिति तय हुन नसकेकाे यातायात व्यवस्था विभागका महानिर्देशक गोमन बहादुर हमालले बताए । बुधबार यातायात व्यवसायी महासंघबीच छलफल भएपनि ठोस निचाेडमा पुग्न नसक्दा २५ गते बैठककाे बैठक टुंग्याउने हमालले बताए ।
हमालले भने ‘भदौ २५ को बैठकमा सबै तयारी पुरा गरेर आउन यातायात व्यवसायीलाई आग्रह गरेका छौ, उहाँहरू गत वर्षको तथ्यांक अध्ययन गरेर आउनुहुन्छ, त्यसपछि टिकट खुलाउने निर्णय गर्छौं ।’ यात्रुको सहजताका लागि उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्षको निर्माण गर्नुका साथै सबै प्रदेश तथा स्थानीय सरकारलाई आ–आफ्नो क्षेत्रका यातायात तथा सवारी साधनलाई व्यवस्थित गर्न पत्राचार गर्नेसमेत हमालले जानकारी गराए ।
यात्रालाई सुरक्षित र मर्यादित बनाउन सवारी साधन, टिकट, भाडादर र सुरक्षासमेत चेकजाँच गर्नुका साथै भाडादरमा कुनै वृद्धि नहुने हमालले नयाँ विश्वलाई जानकारी दिए ।
सरकारले हाम्रो कुरा सुनेन
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले व्यवसायीहरुको कुरा नसुनेको गुनासाे गरेका छन् । गाडीको टिकट बुकिङ गरेर मात्रै नहुने बताउँदै उनले सरकारले गाउँ गाउँ पुग्नेबाटो मर्मत, भाडा समायोजन गर्नुपर्ने बताए । महासचिव सिटौलाले भने ‘अहिलेको अवस्थामा रूटमा नयाँ गाडी थप गर्नेसक्ने अवस्था छैन ।’
सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्र अहिले अस्तव्यस्त छ । बीमा लगायतका विषयमा सरकारले स्पष्ट निर्णय लिन नसक्नु, बैँकको व्याज उच्च हुनु लगायत कारणले व्यवसायीले नयाँ सवारी साधन थप गर्न सक्ने अवस्थामा नरहेकाे सिटौलाको भनाइ छ ।
२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने यातायात व्यवसायीको माग छ । डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरे केही समयमै निर्णय फिर्ता लिएको थियाे ।



















































































































































































































