४ जेष्ठ २०८१, शुक्रबार

 

अन्तर्राष्ट्रिय गलकोट समाज गठन

देशविदेशमा छरिएका बागलुङको गलकोटका बासी संगठित भएका छन् । हालै काठमाडौंमा भएको एक भेलाले बेलु थापाको संयोजकत्वमा अन्तर्राष्ट्रिय गलकोट समाज गठन गरेको छ । समाजको सदस्यसचिवमा मेघ केसी चुनिएका छन् । नेपालका आठ स्थान र १८ विदेशी मुलुकमा रहेका गलकोट समाजका अध्यक्ष पदेन सदस्य रहेका छन् ।

मातृ संस्थाका रूपमा विसं २०५९ मा गलकोट समाज बागलुङ गठन भएको थियो । विदेशमा पहिलोपटक विसं २०६३ मा गलकोट समाज जापान स्थापना भएको थियो । हाल अस्ट्रेलिया, बेलायतलगायत मुलुकमा गलकोट समाज विस्तार भइसकेको छ । अमेरिकामा समाज गठनको तयारी भइरहेको छ ।

नेपालमा पनि पोखरा, काठमाडौँ, बुटवल, चितवन, नवलपरासीलगायत ठाउँमा गलकोट समाज क्रियाशील छ । बागलुङको गलकोटबाट देशविदेशका विभिन्न ठाउँ पुगेका व्यक्ति समाजमा आबद्ध हुने गरेका छन् ।

सामाजिक विकास र मानवीय सेवाका क्षेत्रमा समाज सक्रिय छ । विभिन्न देशमा रहेका गलकोट समाजबीच सञ्जाल निर्माण र समन्वयका लागि अन्तर्राष्ट्रिय समाज गठन गरिएको संयोजक थापाले बताए ।

दुई वर्षअघि समाजको लगानीमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनसमेत पुनर्निर्माण भएको थियो । समाजले प्राकृतिक प्रकोपका घटनामा राहत कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्