बडिगाड गाउँपालिका–५, खार बजारमा सोमबार पौंदी न्वागी मेला आरम्भ भएको छ । मेला उद्घाटन गर्दै नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपालीको एउटै चाहना समृद्धि रहेको बताए । बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद उनले जिल्लाको पश्चिम भेगका बासिन्दाको एकसूत्रीय माग सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक रहेको भन्दै आफ्नो पनि मुख्य चासो त्यसैमा रहेको दाबी गरे ।
सांसद पौडेलले बडिगाडका रणसिंह, दर्लिङ, सिसाखानीलगायत क्षेत्रको सडक पूर्वाधार, बडिगाड तटबन्धलगायत माग सम्बोधन भइरहेको बताए । न्वागी स्थानीय पर्व भएको र यसको पहिचान राष्ट्रिय स्तरमा भइरहेको भन्दै उनको भनाइ छ । मेलाका अवसरमा दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगितासँगै खुला भलिबल, खुला सांस्कृतिक कार्यक्रम, खुला एकल रेकर्ड नृत्य, खुला दोहोरी गीत, महिलाहरूको म्युजिकल चेयर रेस प्रतियोगिता, शैक्षिक प्रदर्शनी, खुला वडास्तरीय पुरुष लुठो तान प्रतियोगिता, खुला सराय नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पिङलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
मेला मंसिर ६ गतेसम्म चल्नेछ । उद्घाटन कार्यक्रम पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कमलराज आचार्यको स्वागत मन्तव्य तथा सचिव विष्णुप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले रेकर्ड नृत्य प्रतियोगिता चलिरहेको सांस्कृतिक संयोजक टीका पाइजाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । यस क्षेत्रकै सर्वाधिक १ लाख २ हजार २ सय २२ पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिता मेलाको आकर्षण रहनेछ ।



















































































































































































































