१४ कार्तिक २०८३, शुक्रबार

 

राष्ट्रपति रनिङ सिल्डमा ताकम मावि अगाडि

धवलागिरि गाउँपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालयस्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौवटा खेलको फाइनल भएको छ ।

एथलेटिक्सतर्फका नौ खेल टुंगिँदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दुई, धनजनता मावि एक र जनकल्याण माविले एउटा जितेका छन् ।
आइतबार भएको आठ सय मिटरको छात्र दौडमा किसानी मावि, धारापानीका मोहन हर्मेल प्रथम, धनजनता मावि, मुनाका आकाश पाण्डे द्वितीय र जनविकास मावि, मराङका डेकबहादुर रोका तृतीय भएका छन् ।

आठ सय मिटर छात्रा दौडमा ताकम माविकी मनीषा खत्री प्रथम, धनजनता माविकी सबिना मल्ल द्वितीय र बुद्धिविकास माविकी मेलिना घर्ती तृतीय भएका छन् । हाइजम्प छात्रतर्फ हेम माविका अभिषेक मगर प्रथम, बुद्धिविकास माविका टंकप्रसाद घर्ती द्वितीय र ताकम मावि र चन्द्रज्योतिका खेलाडी तृतीय भएका छन् ।

हाइजम्प छात्रातर्फ किसानी माविकी प्रेरणा रोका प्रथम, जनविकास माविकी रञ्जिता जुग्जाली द्वितीय र जनकल्याण मावि गुर्जाकी ज्ञानदेवी विक तृतीय भएका छन् । यसै गरी सटपुट छात्रतर्फ धनजनता माविका बबिन भण्डारी प्रथम, ताकम माविका उभिर रसाइली द्वितीय र हेम माविका सागर राना तृतीय भएका छन् ।

सटपुट छात्रातर्फ जनकल्याण माविकी चेतकुमारी छन्त्याल प्रथम, ताकम माविकी ज्योति हर्मेल द्वितीय र लमसुङ माविकी चन्द्र रसाइली तृतीय भएका छन् । लङजम्प छात्रतर्फ हेम मावि प्रथम, जनजागृति मावि मल्कवाङ द्वितीय र धनजनता मावि, मुना तृतीय भएका छन् ।

श्निबार भएको पन्ध्र सय मिटर दौडको छात्रछात्रा दुवैतर्फ ताकम मावि प्रथम भएको थियो । छात्रतर्फ ताकम माविका विकास भण्डारी प्रथम, धनजनता माविका बुद्धिमान विक दोस्रो र किसानी मावि धारापानीका मोहन हर्मेल तृतीय भए ।

छात्रातर्फ ताकम माविकी मनीषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे द्वितीय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडाध्यक्ष कलानिधि शर्मा, राजाराम सुवेदीलगायतले मेडल, प्रमाणपत्र वितरण गरेका थिए । छात्रछात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।

धवलागिरि गाउँपालिकाको आयोजनामा पुस २९ सम्म सञ्चालन हुने प्रतियोगितामा दस विद्यालयका ३ सयभन्दा बढी खेलाडी सहभागी भएका छन् । छात्रछात्रा एथलेटिक्स र भलिबल विधामा २८ वटा खेल खेलाइने अफिसियल दिपेन राईले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्रसहित क्रमशः नगद पचास हजार, तीस हजार र बीस हजार पाउने गाउँपालिकाका शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले बताए ।

खेलाडी र शिक्षकलाई गाउँपालिकाको सहयोगमा ताकमको आमा समूह र युवा क्लबले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाएका छन् । गत वर्ष हेम मावि सिवाङमा सञ्चालन भएको प्रथम राष्ट्रपति रनिङ सिल्डको उपाधि धनजनता माविले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung