बरेङ गाउँपालिकाले गर्भवतीहरूलाई लक्ष्यित गरी पोसिलो झोला कार्यक्रम सुरु गरेको छ ।
पालिकाका पाँच स्वास्थ्यचौकी र ३ सामुदायिक स्वास्थ्य एकाइमा माघ २ बाट कार्यक्रम थालिएको हो । पहिलोपटक गर्भ जाँच गराउनेलाई पोसिलो झोला प्रदान गरिनेछ । झोलाभित्र आयोडिनयुक्त नुन, रायो, मुला, धनिया, सिमी, बोडीको बिउ हुनेछ । कार्यक्रमको उद्देश्य महिलालाई नियमित गर्भजाँच गर्न र स्वास्थ्यसंस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने, हरिया सागपात, आयोडिनयुक्त खाना खान सल्लाह दिनु रहेको पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताए ।
पालिकाले उज्यालो भविष्य बालबचत कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
सुत्केरी महिलाले स्वास्थ्यसंस्थामा नियमित ४ पटक जाँच गराए, संस्थागत सुत्केरी भएमा र ३५ दिनभित्र बच्चाको जन्मदर्ता बनाए बचत कार्यक्रममा समावेश हुन पाउने पुनले जानकारी दिए ।
उज्यालो भविष्य बालबचत कार्यक्रमअन्तर्गत छोरा जन्मेमा पालिकाले एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ भने छोरी जन्मे हरेक महिना एक सयका दरले २० वर्षसम्म जम्मा गरिदिने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
उक्त सुविधा पाउन आमाबाबुले पनि पालिकासँगै छोरीको खातामा २० वर्षसम्म एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । छोरी २० वर्षको हुँदासम्म आठ कक्षा पास नगरे, २० वर्ष उमेर नपुग्दै विवाह गरे पालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । छोराछोरी जुन जन्मे पनि २ बच्चाका लागि मात्र यो सुविधा लागू हुने उनको भनाइ छ ।
आउँदो चैत महिनाभित्र सुत्केरी महिला २० वर्ष उमेरभन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्षदेखि आमा २० वर्ष पुगेको हुनुपर्ने नियम बनाइएको छ ।



















































































































































































































