सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ बारे अन्तरक्रिया सम्पन्न भएको छ ।
बागलुङ नगरपालिकाको आयोजना र बैंकर्स एसोसियसन बागलुङको संयोजनमा भएको कार्यक्रममा एसोसियसन अध्यक्ष नारायण पौडेलले नेपाल राष्ट्र बैंकले ल्याएको नीतिअनुसार वाणिज्य बैंकहरूले सहुलियतपूर्ण कर्जाको कार्यक्रम ल्याएको बताए । व्यावसायिक रूपमा काम गर्ने उद्यमीको आर्थिक समृद्धिका लागि सहुलियतपूर्ण कर्जा महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
वाणिज्य बैंक बागलुङ शाखाका प्रबन्धक विजयप्रकाश पौडेलले २०७५ सालमा ७ प्रकारका सहुलियतपूर्ण कर्जाको कार्यक्रम ल्याइए पनि बिनाधितो कर्जा दिने कार्यक्रम नरहेको बताए ।
बागलुङ जिल्ला त्यति प्रभावित नभएका कारण भूकम्पपीडितलाई दिने कर्जा उपलब्ध गराउन नसकिएको पौडेलले बताए । उत्पादनसँग सरोकार राख्ने सहुलियत कर्जा दिने नीति भने कायमै रहेको उनले जानकारी दिए । ‘सहुलियतपूर्ण कर्जा पाउन कृषक–व्यवसायीको बिजनेस प्लान भने आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक दुर्गाप्रसाद अर्यालले सहुलियतपूर्ण कर्जा लिन आउनेलाई दिइँदै आएको बताए ।



















































































































































































































