पत्रकारिताका धरोहर पन्नालाल गुप्ता अर्थात् चाचाजीको निधन भएको छ । ९२ वर्षीय वरिष्ठ पत्रकार गुप्ताको बुधबार राति निधन भएको हाे।
परिवारका अनुसार बुधबार दिउँसोतिर बान्ता भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारकै क्रममा निधन भएको हो । उनका श्रीमती, चार छोरा र एक छोरी छन् ।
उनी नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष, पत्रकार महासंघ बाँकेका पूर्वसभापतिसमेत हुन् । चाचाजीले प्रकाशन तथा सम्पादन गर्ने ‘किरण साप्ताहिक’ पश्चिम नेपालकै पुरानो र चर्चित पत्रिका हो । यही पत्रिकामार्फत नै चाचाजीले सयौं पश्चिमेली युवालाई पत्रकारितामा प्रवेश गराएका थिए । चाचाजीको पार्थिव शरीर नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । बिहीबार बिहान अन्तिम श्रद्धाञ्जलि दिएर धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिने परिवारले जनाए पनि बिहीबार पञ्चक परेकाले शुक्रबार बिहान मात्र हुने भएको छ ।



















































































































































































































