लोकदोहोरी गायक बालचन्द्र बरालले गुल्मीको वामीटक्सारमा युवा पुस्तालाई छमछमी नचाएका छन् । उनले गुल्मी मुसीकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम गुल्मी मुसीकोट पर्यटन, सांस्कृतिक औद्योगिक एवं व्यापार महोत्सवमा बिहीबार आफ्नो प्रस्तुतिले स्थानीयलाई लोभ्याएका हुन् । ‘लाउनी भए लाऊ माया लाउनीले, नलाऊ माया छोडेर जानीले’ बोलको गीत गाउँदा कार्यक्रममा उपस्थित युवा तालमा ताल मिलाउँदै कम्मर मर्काउन थाले ।
‘नमस्ते झ्याझलो झोर्ले है, तिमी आऊ भुवाचिदीबाट म आउँछु खर्वाङैबाट, भेटौंला टक्सारमा ओर्ले है’ गाउँदा दर्शकको हुटिङले गायक स्वयं निकै उत्साही देखिन्थे । त्यसपछि उनले हिँउचुलीमा घाम, ठमेल बजारलगायत गीत गाएका थिए । स्टेजदेखि दर्शकसम्म सबैलाई नचाएका बरालले पुनम सुनारसँग पानको पातमा गाएको लाइभ दोहोरीले सन्ध्याकालमा चिसिएको मौसम तातिन पुग्यो ।
बागलुङको दगातुन्डाँडामा जन्मिएका बरालले आफ्नै घरेलु बजार वामीटक्सारमा गाउँदा स्थानीयले स्वागत गरेका थिए । २६ गतेसम्म १२ दिन चल्ने महोत्सवको बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका थिए । महोत्सवमा ४ दर्जनभन्दा बढी कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।



















































































































































































































