प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०७६ मा शनिबार गायकगायिका मञ्जु पौडेल, राधिका हमाल, रामचन्द्र चन्दलगायले आआफ्नो प्रस्तुति पस्किए । बिदाको दिन भएकाले सांगीतिक कार्यक्रमको आनन्द लिन विभिन्न ठाउँबाट दर्शक आएका थिए ।
त्यसअघि कार्यक्रमलाई गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले सम्बोधन गरे । १२ दिन लामो महोत्सवमा हरेक दिन भिन्न कलाकार र भिन्न अतिथिको सहभागिता रहँदै आएको छ । बिहीबार र शुक्रबार कम दर्शक आए पनि शनिबार दर्शकको भव्य उपस्थितिले आयोजक उत्साहित बनेका छन् ।
स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको महोत्सवमा मह, जाम, कफी, विभिन्न प्रजातिका तरकारी, सेरामिक्स, बुर्तिवाङको प्रसिद्ध खुकुरीका स्टल छन् । तर स्टलमा बाहिरी व्यापारीको बाहुल्यले स्थानीय व्यापारीलाई धक्का पुग्ने उनीहरूको गुनासो छ । स्थानीय खाना र बसाइका लागि होमस्टे प्रवर्धन गर्ने जनाएको आयोजकलाई आधुनिक खाना नै बाधक बनेका छन् । महोत्सवमा रहेका स्टलले बजारमा चलेका परिकारलाई नै प्राथमिकता दिएका छन् ।
झुला, पिङको आकर्षणले स्थानीयलाई मोहित त बनाएकै छ । तर, महोत्सवस्थलनजिकै अवैध मानिने जुवालगायत खेल पनि प्रहरीको आँखा छल्दै चलिरहेका छन् ।
त्यस्तै शनिबारै सुरु भएको मुसिकोट नगरपालिकाभित्रको अन्तर विद्यालय कपर्दी प्रतियोगिताले खेलप्रेमीलाई आकर्षित गरेको देखियो । यस क्षेत्रमै प्रख्यात, खुला भलिबल प्रतियोगिता २२ गतेबाट सुरु हुने आयोजकले जनाएको छ । आइतबार पुराना गुल्मेली गायक बोमबहादुर कार्की, प्रीति आलेलगायत कलाकारको सहभागिता रहनेछ ।



















































































































































































































